पार्टी गठन नहुँदै प्रधानमन्त्री ओली गुटमा शुरु भयो बबन्डर

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०८ : ३२
पार्टी गठन नहुँदै प्रधानमन्त्री ओली गुटमा शुरु भयो बबन्डर

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको पार्टी पूर्ण रुपमा गठन नहुँदै विवादमा परेको छ । ओली पछिको नेताको बन्ने भन्नेमा पार्टीमा भित्री गुटबन्दी शुरु भईसकेको एक नेताले बताएका छन् । ओलीको पार्टीमा ओली पछि नेता बन्न उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेल, गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल), अर्थमन्त्री समेत रहेका विष्णु पौडेल र संविधानसभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङ अग्रपङक्तिमा देखिएका त छन् तर त्यही भित्र यी चार मुख्य नेताहरुले समिकरण बनाउन थालेपछि ओलीको पार्टीमा बबन्डर शुरु भएको छ । 

विष्णु पौडेल र रामबहादुर थापाले एउटा गुटको समिकरण बनाउने प्रयास गरेका छन भने अर्काेतिर उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्नो समुह बनाउन चाहेका छन् । तर ओलीको भित्री चाह भने शंकर पोखरेललाई अगाडी बढाउने देखिएको छ । यसले पार्टी गठनले पूर्णता नपाउँदै ओलीको पार्टीमा बबन्डर मच्चिन थालेको स्रोतको भनाई छ । सरकारमा रहेर पनि सडकमा आउन खोजेको यो समुहले २३ माघमा काठमाडौंको नारायणहिटी अगाडी जनसभा गर्ने तयारी थालेको छ ।

नारायणहिटीबाट नयाँ सन्देश दिने भन्दै ओलीले दरबारकै अगाडी सभा राखिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । परिवर्तनको सदैव विरोधी देखिदै आएका ओलीले सभा अगाडी पशुपतिमा पुगेर विशेष पूजा गर्नु, भारतीय प्रधानमन्त्री मोदीकै शैलीमा अन्ध राष्ट्रवादको सहारा लिनु र नारायणहिटी अगाडी सभा गरेर हिन्दु राष्ट्र र राजावादीहरुको साथ खोजेर आफु अगाडी जान खोजेको सन्देश दिन खोज्नुले ओली पश्चगमनको बाटोमा हिड्न तयार देखिएका छन् ।

हुन त प्रतिनिधीसभा विघटन गरेर आफुमा हुदै नभएको अधिकार प्रयोग गरेर प्रतिगमनको बाटोमा दौडिसकेका ओलीले सर्वाेच्चमा आफ्नो विरोधमा परेको मुद्दामा समेत राजावादी वकिलहरु छानीछानी बहसमा उतार्नुले पनि ओलीको राजनीतिक यात्राको छनक दिन्छ । यस्तो बेला ओलीको पार्टीमा भने असन्तुष्टिको पारो चढ्दो मात्रामा छ । पार्टी गठनको तयारीमा लाग्दै गर्दा ओलीले गृहमन्त्री समेत रहेका बादललाई बामदेव गौतम पार्टीमा आए उनी पछिको बेता बनाउने भन्दै प्रवेश गराएका थिए । तर के के न पाइन्छ भन्दै ओली समुहमा लागेका बादल र पूर्व माओवादी धारका नेतालाई अहिले ओलीले रौं बराबर पनि ठानेका छैनन् ।

बादललाई महत्व दिएर जाने बताउँदै आएका ओलीले इश्वर पोखरेल भन्दा बादललाई माथी उक्लन नदिने रणनीति बनाईसकेका छन् । सेना बिनाको सेनापति आएको भन्दै उनलाई ओली खेमामा अहिले खिसिटिउरी समेत गर्न थालिएको छ । २३ माघको जनसभाका लागि निकालिएको पोष्टरहरुमा समेत ओली पक्षका नेताहरुले बादलको फोटोलाई स्थान दिएका छैनन् । जनवर्गीय संगठनका नेताहरुलाई प्रचारकका रुपमा पोष्टर निकाल्न लगाएको ओली पक्षले ओलीको ठूलो फोटो राखेर पोष्टर बनाएको छ । साइडमा ओली पक्षका जनवर्गीय संगठनका नेताको पनि फोटो राखिएको छ । केही पोष्टरहरुमा इश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ सम्मका फोटो समेटिदा सम्म पनि बादलको कही कतै सानो फोटो समेत पोष्टरमा राखिएको छैन् ।

यसले बादलले भर्खरै समेट्न खोजेका नेता कार्यकर्तामा निरासा छाएको छ । असन्तुष्टि बढाएको छ । बादलको फोटोलाई योजनाबद्ध रुपमा नराख्नका लागि इश्वर पोखरेलले निर्देशन दिएको बताईएको छ । आफुलाई माइनस गर्न योजनाबद्ध रुपमा इश्वर पोखरेल लागेको देखेपछि बादल समुहमा असन्तुष्टि बढेको हो । यसले ओलीको पार्टी गठन नुहदै विवादको भुंगोमा परिसकेको एक नेताले सफलखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस