भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नवजागृति वनमा बाल उद्यानको शिलान्यास

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १७ : ३४
भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नवजागृति वनमा बाल उद्यानको शिलान्यास

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर ११ नवजागृति सामुदायिक वनमा सोमबार एक समारोहबीच बाल उद्यान शिलान्यास गरेकी छिन् । भरतपुर महानगरको ३० लाख बजेटमा बाल उद्यान निर्माण थालिएको हो । 

महानगरले एक वडा एक पार्क निर्माण गर्ने लक्ष्य राखे अनुसार भरतपुर महानगर ११ मा पनि नगरस्तरीय ईको पार्क निर्माण थालिएको र सुरुको चरणमा बाल उद्यानको शिलान्यास गरिएको महानगर प्रमुख दाहालले बताइन् । महानगरले अहिले ६ वटा वडामा करोडौँ बजेटका नगरस्तरीय पार्कको काम थालनी गरिसकेको उनको भनाई छ । 

बाल उद्यानका लागि अहिले ३० लाख बजेट बिनियोजन भएको र आगामी दिनमा महानगरबाट थप बजेट बिनियोजन गर्ने र केन्द्र सरकारबाट पनि बजेट ल्याउन पहल गर्ने बताइन् । मेयर दाहालले भरतपुर महानगरमा ब्यापक रुपमा बिकासका कामहरु भएको बताइन् । 

बिगतमा पिच हेर्न भरतपुर र नारायणगढका मुख्य सडकमा आउनु पर्ने अवस्था रहेकोमा अहिले महानगरका सबै वडाको सानोसानो टोलटोलमा पनि पिच बाटो पुगेको र फुटपाथसहितका ब्यवस्थित रिङरोड, लिङ्करोडहरु धमाधम निर्माण भएको उनले बताइन् । 

पूर्वाधार बिकासमा महानगर निकै अगाडि बढेको उनको भनाई छ । गोन्द्राङ पुलचोक सडक,  भरतपुरहुँदै जगतपुर, शुक्रनगर, मेघौली सडक, सबै महानगरको प्रयास र प्रयत्नबाट सफल भएको उनको दाबी छ ।

कार्यक्रममा बोल्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले भरतपुर महानगर देशकै नमुना महानगरका रुपमा अगाडि बढेको बताइन् । भरतपुर महानगरको बिकासबाट अरु महानगरले पाठ सिक्नु पर्ने उनको भनाई छ । शिक्षा स्वास्थ्य सरसफाई पूर्वाधार निर्माण सबै क्षेत्रमा भरतपुर महानगरले नमुना काम गरेको उनको भनाई छ ।   

सामुदायिक वन परिसरमा वनको समेत आर्थिक सहभागितामा ३७ लाख ८५ हजार ६३२ रुपैयाँको लागतमा उद्यान निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । ३० लाख महानगरले हाल्ने र बाँकी ७ लाख ८५ हजार ६३२ रुपैयाँ सामुदायिक वनले लगानी गर्ने गरी महानगरसंग सम्झौता भएकोे उनको भनाई छ । 

माघ ९ गते सम्झौता भई २०७८ असार २५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको उनले बताए । यसबाट करिब ४५ हजार जनसंख्या लाभान्वित हुने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस