प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्काशित गर्न अध्यक्ष प्रचण्डको प्रस्ताव

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १४ : ५६
प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्काशित गर्न अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलका एजेण्डा प्रस्तुत गरेका छन् । 
बैठकका छलफलका एजेण्डाका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशित गर्ने प्रस्ताव तय गरिएको छ ।

यसैगरी शहिदप्रति श्रद्धाञ्जली, वर्तमान स्थितिको जानकारी, निर्वाचन आयोगबारे, संघर्षका कार्यक्रम र विविध एजेण्डा तय गरिएको छ। यसैगरी महासचिव विष्णु पौडेललाई निष्कासन गर्ने एजेण्डा पनि राखिएको छ ।

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको प्रचण्ड– नेपाल समूहले बताएको छ।

यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस