नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै

ओली पक्ष भन्छ–महासचिवले बैठक नै बोलाउनु भएको छैन्

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ०८ : ५३
नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । बहुसंख्यक पार्टी केन्द्रीय सदस्य रहेको नेकपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य प्रचण्ड र माधव नेपाल पक्षमा छन् । यो पक्षले अहिले बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्दैछ । २८ माघमा काठमाडौंमा आयोजना गर्न लागेको विरोध प्रर्दशनको तयारी र समसामायिक विषयमा छलफल गर्ने गरी प्रचण्ड नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको हो । यो बैठकले निर्वाचन आयोगले पछिल्लो पटक पठाएको पत्रका विषयमा पनि छलफल गर्न सक्ने अनुमान गरिएको छ ।

बैठकका लागि केन्द्रीय सदस्यहरु काठमाडौं आईसकेका छन् । तर ओली पक्षले भने प्रचण्ड नेपाल पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएको छ । अध्यक्षहरुसँगको परामर्शमा महासचिवले बैठक बोलाउने प्रचलन रहेको भन्दै ओली पक्षले भने बैठक नबोलाईएको बताएको छ ।

तर, प्रधानमन्त्री ओलीलाई नेकपाको प्रचण्ड नेपाल पक्षले पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गरिसकेको र महासचिव विष्णु पौडेललाई पनि हटाईसकेको छ । यो अवस्थामा ओली पक्षले आफुलाई आधिकारिक नेकपा भनेपनि त्यसको कुनै प्रमाण पुष्टि हुदैन । निर्वाचन आयोगले यथावत राखेका जिकिर गर्दै ओली पक्षले कुनै बैठक नबोलाएको विज्ञप्ती सो पक्षको केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालमार्फत जारी गर्न लगाएका छन् ।

तर ४४१ सदस्यीय केन्द्रीय समितिमा प्रचण्ड नेपाल पक्षमा झण्डै ७० प्रतिशत केन्द्रीय सदस्यहरु छन् । अर्थात ३ सय हाराहारीका केन्द्रीय सदस्य प्रचण्ड नेपाल पक्षसँग छ । ओलीसँग जम्माजम्माी ११० आसपासका मात्र केन्द्रीय सदस्य छन् । अल्पमत पक्षले बहुमत पक्षले केन्द्रीय समिति बैठक बोलाउदा समेत बैठक नबोलाईएको जिकिर गर्नुको अर्थ नरहेको प्रचण्ड नेपाल पक्षका स्थायी समिति सदस्य वेदुराम भुषालले बताए ।
 

प्रतिक्रिया दिनुहोस