रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ । रोल्पामा विकास निर्माणको कामको जस लिन सत्तापक्षले धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरेको छ । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् ।
पोखरेलले शनिबार (आज) पुल शिलान्यास गर्ने कार्यक्रम छ । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको भएर निर्माणकार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो । उनका अनुसार २५प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ ।
सामान्यतयाः कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, २५प्रतिशत निर्माणकार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गरे ।
‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन’, पुनले भने, ‘सरकारका साधनश्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तारको प्रयास भएको छ । निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए । उनले यसअघि मूख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी करिडोरमा तीन वटा पक्की पुल निर्माण हुँदै
लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द
बेनी-जोमसोम-कोरला सडकमा ५ वटा पुलको निर्माण पूरा
आठ वर्षसम्म पुल नबन्दा राप्ती लोकमार्ग जोड्ने योजना अधुरै
१६ महिनामा काम सक्ने सम्झौता भएको पुल ७ वर्षसम्म अलपत्र
दुई पुल निर्माणले चार हजारभन्दा बढी लाभान्वित