सत्र करोडमा पक्की पुल निर्माण

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०८२, १३ : ५२
सत्र करोडमा पक्की पुल निर्माण

File Photo

खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । 

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । 

जन्तेढुङ्गा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिले सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । 

बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावतकै गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताए। नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देवीस्थान–चिसापानी सडकखण्डमा पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवा सुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकारअन्तर्गत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताए ।