प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, ११ : २२
प्रचण्ड-नेपाल समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनम र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले  जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताए । 

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।

संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेको छ । १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने दाहाल–नेपाल समूहको कार्यक्रम छ । यस्तै १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस