के हो गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचको लफडा ?

पत्रपत्रिकाबाट

विहीबार, १५ माघ २०७७, ०७ : ५४
के हो गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचको लफडा ?

काठमाडौं । ५७ जना गायकगायिका तथा संगीतकारको हस्ताक्षरयुक्त उजुरीको दबाबमा पक्राउ गरिएकी विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना रेग्मी शर्मा २ लाख ७५ हजार रुपियाँ धरौटीमा रिहा भएकी छिन्। गायक प्रमोद खरेलसँगको विवादमा ५६ जना संगीतकर्मीले हस्ताक्षर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

गायक खरेलले आफ्नै लगानी र कपिराइट रहेको प्रणय एल्बम विन्ध्यवासिनी म्युजिकलाई ५ वर्षका लागि दिएको र नियमअनुसार फिर्ता माग्दा नदिएर प्रतिलिपी अधिकारको हनन गरेको आरोप लगाउँदै विन्ध्यवासिनीका सञ्चालकहरुविरुद्ध उजुरी दिएका थिए। उनले गालीगलौज गरेको पनि निवेदनमा उल्लेख गरेका थिए भने अन्य ५६ जना संगीतकर्मीलाई समेत निवेदनमा हस्ताक्षर गराएका थिए। सरकारी वकिल कार्यालय र प्रहरीको अनुसन्धान तथा बयानपछि धरौटीमा रिहा भएकी लीनाले हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुन नहुने जनाएकी छिन्।

‘कानुन झुन्ड÷समूहले प्रभावित हुँदैन, यो सबै नागरिकलाई समान हुन्छ। कारोबार प्रतिलिपि अधिकारसँग जोडिएको, गायकले ध्वनि अंकन उत्पादक कम्पनीको अधिकार छिन्ने प्रयास गरेको, करारको उल्लंघन पनि स्वयं गायकले नै गरेको, प्रतिलिपि अधिकार ऐनले दिएको (गायक) प्रस्तोताको अधिकार सुरक्षित गर्दै गर्दा ध्वनि अंकन उत्पादक कम्पनीको अधिकारलाई पनि सुरक्षित गर्नै पर्छ, कानुनले सबैलाई समान न्याय दिनुपर्छ। हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुनुहुँदैन।

कुनै आम्दानी र हरहिसाब भए दुई पक्ष बसेर विन्ध्यवासिनी म्युजिककै कार्यालयमा गर्दा हुन्छ। करोडौंको कारोबार नभएर, एक÷दुई लाखको कारोबार रहेको, त्यो पनि करारबमोजिम गायकले आफ्नो  रोयल्टी आम्दानीबाट उल्टै तिर्न पर्ने हिसाब आउने देखेर ११ वर्षसम्म सम्पर्क गर्न नआएका हुन्।

तसर्थ कानुनबमोजिम उनलाई कुनै पनि प्रकारको क्षतिपूर्ति, जरिवाना तिर्न पर्दैन, परेमा तिरौंला भनेर सम्मानित अदालतमा प्रणय एल्बमको जम्मा आम्दानी २ लाख ७५ हजार धरौटी पनि राखेका छौं’, विज्ञप्तिमा लीनाले प्रश्न गरेकी छिन्– ‘५७ जना हस्ताक्षरकर्ता गायक प्रमोद खरेल र विन्ध्यवासिनीको करारका विषयमा के सम्बन्ध राख्दछन् ? उनीहरूको लेन–देन के छ ? कता छ ? कहाँ उल्लेख छ ?’

प्रतिलिपि अधिकार ऐनले ध्वनि अंकन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको उल्लेख गर्दै लीनाले विज्ञप्तिमा भनेकी छिन्– ‘त्यस कारण विन्ध्यवासिनी म्युजिक प्रालिले  आफ्ना ध्वनि अंकन उत्पादन गीत, संगीत, भिडियो÷अडियो÷सिडी क्यासेट सबै ५० वर्षसम्म निर्बाधरूपमा बिक्री–वितरण गर्न पाउँछ। यो ऐनले दिएको अधिकार हो।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस