काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार माघ १९ गते पार्टीका भ्रातृ संगठनहरू, २४ गते पार्टीका शुभेच्छुक संगठनहरू र ३० गते कांग्रेस जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्नेछन् । केन्द्रीय समितिले तय गरेका आन्दोलनका कार्यक्रमबाहेक भ्रातृ संगठन, जिल्ला समिति तथा शुभेच्छुक संगठनहरूले आवश्यकता अनुसार विरोधका कार्यक्रम गर्न सक्ने निर्णय बैठकले गरेको जानकारी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले गराए ।
प्रवक्ता शर्माका अनुसार बैठकले प्रधानमन्त्री निवास बालुबटारअगाडि नागरिक समाजले सोमबार गरेको प्रदर्शनमा प्रहरीले गरेको लाठी प्रहारको निन्दा गरेको छ । उक्त घटनालाई कांग्रेसले गम्भीर रुपमा लिएको शर्माले बताए । ‘प्रधानमन्त्रीले गरेको संसद् विघटनको कदम असंवैधानिक छ तर प्रधानमन्त्री निवास अगाडि गरिएको प्रदर्शन संवैधानिक छ,’ शर्माले भने, ‘असंवैधानिक कदमविरुद्ध संवैधानिक प्रदर्शन गरिएको छ ।’
प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिहरूले प्रधानमन्त्री पदको मर्यादा र शोभा घटाएको ठहर बैठकले गरेको छ । संसद् विघटनको विरोधमा बोल्नेलाई प्रधानमन्त्रीले देशविरोधी र देशद्रोहीको संज्ञा दिएको भन्दै बैठकले आपत्ति प्रकट गरेको छ । यसैगरी पत्रकार र वरिष्ठ अभिवक्ता कृष्णप्रासद भण्डारीको विषयमा प्रधानमन्त्रीले व्यक्त गरेको टिप्पणीले प्रधानमन्त्री पदको महत्व र मर्यादा घटाएको ठहर बैठकले गरेको छ ।
बैठकले कांग्रेसका केही भ्रातृ संगठनका कार्य समितिको म्याद थप गरको छ । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी र जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज कार्य समितिको अवधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय सर्वसम्मतबाट गरिएको प्रवक्ता शर्माले जानकारी गराए ।
बैठकमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले यतिबेला नेपाली कांग्रेसको दायित्व संविधान बचाउनु रहेको भन्दै संविधान भत्केमा त्यसको रिक्तता भयावह हुने बताए । ‘७० वर्षको संघर्षपछि संविधानसभाले कांग्रेसको नेतृत्वमा बनाएको संविधानलाई भत्कन नदिन र त्यसको संरक्षण गर्ने मूल दायित्व यतिखेर नेपाली कांग्रेसको जिम्मामा छ,’ आचार्यले भने, ‘अहिले हाम्रो पहिलो प्राथमिकता संविधान जोगाउने हुनुपर्छ, हो । संविधान जोगिए आवधिक निर्वाचन हुँदै जान्छ । संविधानमा पनि आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै