ईश्वर पोखरेल निर्वाचन आयोगको निर्णयबाट उत्साहित !

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ०५ : ३०
ईश्वर पोखरेल निर्वाचन आयोगको निर्णयबाट उत्साहित !

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णयबाट उत्साहित भएका छन् । उनले आयोगले गरेको निर्णयले पार्टीभित्र देखापरेको चरम अराजक, गुटवन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिबाट सिर्जित गम्भीर अवस्थामाथि औंला ठड्याएको बताएका छन् । 

मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दुमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई आयोगले औंल्याइदिएको भन्दै धन्यवाद दिएका छन् । उनको भनाइमा आयोगको निर्णयले प्रचण्ड नेपाल समूहलाई धक्का पुगेको संकेत गरिएको छ । 

केपी ओली समूहका भरपर्दा सारथी उनले भनेका छन्, ‘‘आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्वसमूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समीकरण’ बनाउने (सन्दर्भ समूह बनाउने)  र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन ।

त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो ।

प्रवल वन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ, निर्वाचन आयोगलाई !’

 उनले नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई आयोगले स्वीकार नगरेको पनि  टिप्पणी गरेका छन् । ‘पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले ।

यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले’, पोखरेलले भनेका छन्, ‘पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको वैधानिक र औपचारिक मन्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै  मिल्दैन भन्यो निर्वाचन आयोगले।’

फुटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत आयोगको यो निर्णयबाट सवक मिलेको उनको टिप्पणी छ।  

यतिवेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिँदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक रहेको भन्दै उनले भनेका छन्, ‘नेकपाभित्र आउट डेटेडहरू बाहिरिने र अपडेटेड भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेको छ !’