प्रदेश नम्बर १ मा आइएमई भरोसा कोशको रकम वितरण

कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १३ : ५०
प्रदेश नम्बर १ मा आइएमई भरोसा कोशको रकम वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यज्यूहरू लगायत ग्रुपको प्रदेश नम्बर १ मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोशको मुख्य उद्देश्य रहेको बताए । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेका हुन् ।  

कोरोना भाइरस (कोभिड– १९) का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोशको स्थापना गरेको हो । कोशले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ । 

कोशबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड– १९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाएको थियो । 

आइएमई लिमिटेड
आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस