२५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, १० : ३९
२५ सामूदायिक विद्यालयमा आविष्कार क्लब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामूदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  

विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमुलक सिकाइको प्रवद्र्धन गर्नेलगायतका उदेश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई रु एक–एक लाख अनुदान दिएको छ ।  

अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्वोधन गर्दै  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रुपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरे । ‘काठमाडौँ महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ । यसलाई व्यवहारिक रुपमा लागु गर्न तपाईँहरु लाग्नुहोला,’ शाक्यले भने, ‘सामूदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामूदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ ।’ 

उनले सामूदायिक विद्यालयमा राज्यको ठूलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ उनले भने, ‘निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामूदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो । तपाईँहरुले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेका भन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन् ।’ 

शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि स्मरण गराए । ‘हामी पूर्वाधारलगायतका लगि लगानी गर्न तयार छौँ,’ शाक्यले भने, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईँहरुको हो । सामूदायिकमा पढेको विद्यार्थीले आफुले चाहेको क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस् । त्यसमा तपाईँहरुको कमजोरी नहोस् ।’ 

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानध्यापकलाई आग्रह गरेका छन् । ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । ती मध्ये पनि शिवपुरी माध्यामिक विद्यालयलाई हव विद्यालयका रुपमा छनोट गरेका छौँ’ बस्नेतले भन्नुभयो, ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरुमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ । यो कार्यक्रम सम्वन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८  असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।’ 

बस्नेतले उक्त क्लबका विद्यार्थीसँग सम्वन्धित विषयका शिक्षकहरुमार्फत गरिने विभिन्न कार्यशालामा भाग लिने, विद्यालयका विज्ञान शिक्षकहरुको भेला आयोजना गरी त्यसको अनुगमन गर्ने जस्ता कार्य हुने पनि बताए । ‘कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका अविष्कार क्लबहरुको सहभागितामा हब विद्यालयमा आविष्कार मेलाको आयोजना गरिने छ,’ बस्नेतले भने, ‘यो मेलामा दिएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृति गरिने छ ।’ सहरी योजना आयोगका सचिवलाय प्रमुख डिल्लीराम बाँस्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताए।  
 

प्रतिक्रिया दिनुहोस