सडकका कुराले न्यायालय प्रभावित हुँदैन : प्रधानन्यायाधीश राणा

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १६ : ५५
सडकका कुराले न्यायालय प्रभावित हुँदैन : प्रधानन्यायाधीश राणा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सडकका कुराले न्यायालय प्रभावित नहुने बताएका छन् ।  संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहस सुनुवाइको क्रममा बुधबार प्रधानन्यायाधीश राणाले भने, ‘सडकमा दलहरुले धेरै कुरा गरेका छन्, ती कुराहरुबाट न्यायालय प्रभावित हुँदैन ।’

संसद पुनर्स्थापना हुनै सक्दैन भनी प्रधानमन्‍त्री केपी ओलीलगायतका नेताहरुले बताएपछि प्रधानन्यायाधीश राणाले बाहिरका कुराले न्यायालयलाई केही फरक नपर्ने र त्यसबाट प्रभावित पनि नहुने बताएका छन् । सत्तारुढ दलका नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेको प्रसंग अघि सार्दै रिट निवेदक पक्षका वकिलले यस्ता अभिव्यक्ति र गतिविधिमा रोक लगाउन इजलासको ध्यानकर्षण गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो बताएका हु्न्। 

रिट निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्‍त्री केपी ओलीलगायतका सत्तरुढ दलका नेताहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेकोले त्यसलाई रोक लगाउन माग गरेका थिए। न्यौपानेको जिकिरलाई रोक्दै प्रधानन्यायाधीश राणाले भने, ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ ? न्यौपानेले भने, ‘छैन ।’

‘तपाईँ प्रभावित हुनुहुन्न भने तपाइँ पनि हुनुहुन्न ।’ प्रधानन्यायाधीश राणाले भनेका थिए । बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा बहस गरेका थिए। बिहीबार संसद विघटनसम्बन्धी मुद्दामा निरन्तर सुनुवाइ हुनेछ।

प्रतिक्रिया दिनुहोस