अमेरिकी राष्ट्रपति बाइडेनको शपथ समारोह नजिकिदैं गर्दा सुरक्षा व्यवस्था अति कडा

एजेन्सी

मंगलबार, ०६ माघ २०७७, ०८ : ४२
अमेरिकी राष्ट्रपति बाइडेनको शपथ समारोह नजिकिदैं गर्दा सुरक्षा व्यवस्था अति कडा

अमेरिका । अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनको शपथ ग्रहण समारोह नजिकिँदै गर्दा सुरक्षा व्यवस्था अति कडा पारिएको छ । सुरक्षा खतराका कारण शपथ ग्रहण समारोहको दुई दिन पहिले सोमबार राजधानी वासिङ्गटन डिसीस्थित संसद भवन केही समयका लागि लकडाउन गरिएको थियो।  

ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। नतिजा उल्ट्याउनका लागि अदालतदेखि निर्वाचन अधिकारीलाई दबाब दिनेसम्मको काम गरेका ट्रम्पले बल प्रयोगका लागि समर्थकलाई उक्साएको अभियोग छ । जनवरी ६ मा दुवै सदनको संयुक्त शत्र मार्फत बाइडेनको जितलाई अन्तिम औपचारिकता प्रदान गर्ने काम भइरहँदा ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा हिंसात्मक आक्रमण गरेका थिए।

सो घटनामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो। हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ । संसद भवनमा भएको सो घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले बाइडेनको शपथ ग्रहण समारोहलाई लक्षित गरेर ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गर्न सक्ने चेतावनी दिएको थियो। त्यसपछि सबै ५० राज्य तथा राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

न्यूयोर्क टाइम्सका अनुसार बाइडेनको शपथ ग्रहण समारोहका लागि गरिएको सुरक्षा व्यवस्था आधुनिक समयमा अमेरिकामा आन्तरिक कार्यक्रमका लागि गरिएको सबैभन्दा बलियो सुरक्षा तयारी हो। गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्।