जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड

रासस

शनिबार, ०३ माघ २०७७, १८ : ५१
जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भीड

काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ ।

भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो । 

दैनिक सात सयदेखि आठ सय जनालाई नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता पनि सोहीको हाराहारीमा वितरण भइरहेका कारण भीडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शाहीले बताउनुभयो । उहाँका अनुसार वंशजका आधारमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा छ हजार ३३७ जनाले नयाँ नागरिकता, वैवाहिक अङ्गीकृत लिने ५१ र प्रतिलिपि लिनेमा चार हजार ६६२ जना रहेका छन् । 

उहाँले अन्य जिल्लाबाट बसाइँ सरी आएकाहरुले अनिवार्य जिप्रका झापामा नागरिकता आद्यावधिक गराउनुपर्ने र कतिपयको नागरिकता पुरानो र नबुझिने हुँदा प्रतिलिपि लिनुपर्ने भएको कारण कार्यालयमा भीड बढ्नु र ढिलो हुनु स्वाभाविक भएको बताउनुभयो ।  

“परिचयपत्रका लागि नागरिकता अनिवार्य छ”, सहायक प्रजिअ शाहीले भन्नुभयो, “तीन महिनासम्म कोडिभ–१९ का कारण प्रतिलिपि र नयाँ नागरिकता वितरण गर्न सकिएन । जसका कारण असर अहिले परेको छ । सकेसम्म व्यवस्थित र चाँडो दिने वातावरण बनाउन पहल गरिरहेका छौँ ।” जिल्लामा परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

अन्य जिल्लामा बनाएको नागरिकताको विवरण मगाउनु पर्ने, अभिलेखीकरण धेरै पुरानो हुँदा खोज्न समय लाग्ने हुँदा प्रतिलिपि वितरणमा केही ढिलो हुने गरेको उहाँको भनाइ छ । उहाँले एकजना व्यक्तिको नागरिकता बनाउन या प्रतिलिपि लिनका चारजनाभन्दा बढी व्यक्ति आउने हुँदा पनि प्रशासनमा भीड बढेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस