म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गरेका थिए ।
नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए ।
समीर र यास्मिनका आमा मनिरजा नेपाली हुन् भने मनिरजाका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन् । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छिन् । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसकेकी छिन् ।
समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ माघ २०८२, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
आमाको थरबाट नागरिकता लिन पाइने व्यवस्था गरिँदै
८१ वर्षीया कालमायाले बल्ल पाइन् नागरिकता
८१ वर्षको उमेरमा नागरिकता
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका