चितुवाबाट कृष्णसार जोगाउनै मुस्किल

पत्रपत्रिकाबाट

सोमबार, २७ पुस २०७७, ०७ : ४३
चितुवाबाट कृष्णसार जोगाउनै मुस्किल

खैरापुर । चितुवाले मंगलबार साँझ ५ बजेतिर ७–८ वर्षको पोथी कृष्णसारलाई आक्रमण गर्‍यो। बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट घाइते भएको ४०–५४ किलो तौलको त्यो कृष्णसारको उपचार क्रममा भोलिपल्ट बिहान ज्यान गयो।

संरक्षण क्षेत्रमा कार्यरत रेञ्जर मनराज लामा मोक्तानका अनुसार चालु वर्षको पुस तेस्रो सातासम्म २६ वटा कृष्णसारको मृत्यु भइसकेको छ। यो वर्ष मृत्यु भएका कृष्णसारमध्ये २० वटा चितुवा आक्रमणबाट हो। अर्थात् ७७ प्रतिशत कृष्णसारको मृत्यु चितुवा आक्रमणबाट भएको छ।

चितुवाले ०७४-७५ मा सबैभन्दा बढी ४३ वटा कृष्णसार मारेको तथ्यांक छ। त्यो वर्ष ८८ वटा कृष्णसार मरेका थिए। चितुवाको आक्रमणबाट त्यो वर्ष माघमा १६, पुसमा ६ र साउनमा ५ वटा मारिएका थिए। संरक्षण क्षेत्रमा चितुवा पल्केर हरेक वर्ष कृष्णसारलाई आहारा बनाइरहेको छ।

संरक्षण क्षेत्रसँगै जोडिएको उत्तरमा बबई नदीपारिको बागेश्वरी सामुदायिक वनबाट चितुवा आउने गरेको स्थानीयले बताएका छन्। स्थानीयले जंगलमा बच्चासहितको तीन–चार वटा चितुवा देखेको जानकारी संरक्षण कार्यालयलाई दिएका छन्। ०७५र७६ मा एउटा चितुवालाई सो क्षेत्रबाट नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो।

संरक्षण केन्द्रका प्रमुख अर्जुन भुसालले रैथाने चितुवा नभएकाले नियन्त्रण गर्न समस्या परेको बताए। ‘एउटै चितुवाले नियमित आक्रमण गरिरहेको हो भन्ने हामीसँग कुनै आधार प्रमाण छैन। बर्दिया निकुञ्जबाट यो क्षेत्रमा चितुवाको ओहोरदोहोर भइरहेको देखिन्छ’, भुसालले भने, ‘चितुवाको आहारा नै मृग प्रजाति हो। त्यसैले कृष्णसार संरक्षण क्षेत्रमा आएको हुनुपर्छ। हाम्रा लागि चितुवाबाट कृष्णसार जोगाउनु चुनौतीपूर्ण बनेको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस