राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

सफल खबर संवाददाता

आइतबार, २६ पुस २०७७, १५ : ५१
राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

यसअघि बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभा समक्ष पेश गरेका थिए ।

 

सातौँ अधिवेशनमा प्रतिनिधि सभा सदस्यहरु सानु शिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र राममान श्रेष्ठ, संविधान सभा सदस्यहरु भिमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधी सभाका पूर्वसदस्य ओमकार प्रसाद गौचन र विरबहादुर लामा र २०६३÷०६४ को अन्तरिम व्यवस्थापिका संसदको पूर्वसदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरु पारित गरिएका थिए ।