मोबाइल डाटामार्फत इन्टरनेटको प्रयोग उच्च

पत्रपत्रिकाबाट

मंगलबार, २१ पुस २०७७, ०८ : १५
मोबाइल डाटामार्फत इन्टरनेटको प्रयोग उच्च

काठमाडौं । नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड) को प्रयोग गर्ने दर उच्च देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस ९म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम० प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगकर्ता दुई करोड ३९ लाख २१ हजार १८० छन्। 

करिब एक चौथाई प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्। प्राधिकरणकाअनुसार मोबाइल डाटाबाट इन्टरनेट चलाउने एक करोड ७५ लाख ७५ हजार ४१९ जना छन्। तथ्यांकअनुसार फिक्स इन्टरनेट प्रयोग गर्ने ६३ लाख ४५ हजार ७६१ छन्। जसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिना तार अर्थात वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने दुई लाख २६ हजार ६६२ छन्। 

ब्रोडब्याण्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन्। सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट इन्टरनेट प्रयोग गर्ने धेरै देखिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। पछिल्लो समयमा नेपालमा स्मार्टफोनको प्रयोगकर्ता पनि बढेका छन्। स्मार्टफोनमा सहजै इन्टरनेट चलाउन सकिन्छ। 

अर्यालले भने,‘सिम किन्यो, डाटा अन गर्यो इन्टरनेट चलिहाल्छ। फिक्स इन्टरनेटको प्रयोग बढ्नेगरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन। भौगोलिक जटिलता र महँगो लागतले गर्दो धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुन सकेको छैन। प्राविधक रुपमा पनि मोबाइल डाटाको प्रयोगबाट इन्टरनेट चलाउन सहज छ।’ 

‘मोबाइल टावरको कभरेज धेरै हुन्छ। घर तथा बाहिर जता पनि मोबाइल डाटा प्रयोग गर्न सकिन्छ,’ प्रवक्ता अर्यालले भने, ‘फाइबर इन्टरनेट निश्चित स्थानमा बसेर चलाउनु पर्ने हुन्छ।’ सहजा पहुँच र कभरेजका कारणले पनि मोबाइल डाटा प्रयोगदर उच्च देखिएको अर्यालले बताए। उपभोक्ताका लागि आर्थिक हिसाबले मोबाइल डाटाको तुलनामा फाइबर इन्टरनेट सस्तो पर्छ। मोबाइल नेटवर्क भएको हरेक स्थानमा डाटा उपयोग गर्छ सकिन्छ। पछिल्लो समय तराई तथा सहरी क्षेत्र फाइबर इन्टरनेट प्रयोगकर्तामा वृद्धि भइरहेको उनले बताए। 

नेपालमा तीन वटा कम्पनीले मात्र मोबाइल इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। ती हुन्, एनसेल, स्मार्ट र नेपाल टेलिकम। नेपाल टेलिकमको मोबाइल इन्टरनेट प्रयोगकर्ता धेरै छन्। टेलिकमको हिस्सा ६० प्रतिशतभन्दा धेरै छ। टेलिकमको प्रयोगकर्ता एक करोड ६ लाख १९ हजार १४३ जना छन्। एनसेलको ६७ लाख ५६ हजार ५१५ र स्मार्टको १ लाख ९९ हजार ७६१ जना छन्। एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्र छ, भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस