सडक आन्दोलनमा आउलान् त देउवा ?

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, १० : २६
सडक आन्दोलनमा आउलान् त देउवा ?

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कुन रुपमा हेर्ने भन्नेमा कांग्रेसभित्र दुई थरी मत छ । ओलीको कदम असंवैधानिक भएकोमा कांग्रेसको वुझाई स्पष्ट भए पनि त्यस्तो कदमको विरुद्ध अब कसरी जाने भन्ने कार्यक्रमको सवालमा कांग्रेसले कुनै निश्र्कष निकाल्न सकेको छैन ।

आज पनि यही विषयमा छलफल गर्न काग्रेस केन्द्रिय समितिको बैठक सानेपामा बस्दैछ । सभापति शेरवहादुर देउवा अदालतमा पुगेको यो मुद्दामा अदालतको निर्णय पर्खिनुपर्ने र उसले जे निर्णय दिन्छ, त्यही आधारमा अगाडि जानुपर्ने पक्षमा उभिएका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने लोकतन्त्रवादी पार्टी भएकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले सडक संर्घष गर्नुपर्ने बताइरहेका छन् ।

कांग्रेसभित्रको यही मत भिन्नताका बीचमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले संयुक्त आन्दोलनका कार्यक्रम वनाउन खोजेको प्रयास सफल हुन सकिरहेको छैन । नेकपा विभाजनको फाइदा चुनावबाट लिने दाउमा देउवा खटिएका छन् । पूर्नस्थापना भए पनि ओलीसँग मिलेर आलोपालो सरकारको नेतृत्व गरेर सहकार्य गरेर जाने, 

पुनस्र्थापना नभए पनि आगामी फागुनमा ओलीसँगै सत्ता सहकार्य गरेर चुनावमा जाने गरी देउवा पक्ष अगाडि बढेको छ । तर पौडेल पक्षले ओलीले चुनाव गराउनका लागि संसद विघटन गराएको भन्नेमा विश्वास गर्न नहुने र ओलीको आलोकतान्त्रिक, असंवैधनिक कदमको खुलेर सडकबाटै सामना गर्नुपर्ने पक्षमा उभएिका छन् ।

देउवाले सडक आन्दोलनमा रुची नदेखाएपछि पौडेल पक्षले आफनो तर्फबाट छुट्टै प्रस्ताव नै लगेर देउवालाई पनि आन्दोलनमा जाने बाध्यात्मक अवस्था सिर्जना गर्ने कोसिस गरिरहेको छ । त्यसका लागि आजै पौडेल पक्षले आन्दोलनमा जानेसहितको प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी गरेको छ ।
काग्रेस नेता मिनेन्द्र रिजालले भने, ‘प्रजातन्त्रवादी शक्ति भएका हिसावले पनि ओलीको कदमलाई कांग्रेसले समर्थन गर्न सक्दैन । यसका विरुद्ध सडकको जनमतलाई आफनो वरिपरि गोलबद्ध गरेर आन्दोलनमा जानुको किवल्प छैन ।’ देउवालाई भने ओलीसँग आलोपालो सरकारको लोभ जागेको छ । उनका लागि संसद विघटनको प्रश्न खास मतलव लागेको छैन । भागवन्डामा संवैधनिक नियुक्तिमा समेत मिलाएका देउवाले ओलीसँग मिलेर अहिले आफू फेरि कसरी सरकारमा जाने, या चुनावमा गएर कांग्रेसलाई नेकपा फुटको फाइदा लिँदै पहिलो पार्टी बनाउन सकिएमा त्यसैको नाममा फेरि पार्टी सभापति उछिट्याउने ध्याउन्न छ ।

कांग्रेसका एक नेताले सफलखवरसँग भने, ‘आउदो महाधिवशेनका लागि देउवालाई चुनाव राम्रो मसला बनेको छ । आफ्नै पालामा गिरेको कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने  र पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्म उछिट्याउने दाउमा देउवाजी देखिनुभएको छ ।’ तर पौडेल पक्षले भने जसरी भए पनि ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेस उभिनुपर्ने र आफनो छवि देखाउनुपर्ने जिकिरमा छ । यो पक्षले आजकै वैठकबाट देउवालाई पनि बाध्य बनाएर सडक संर्घषमा लतारेर लैजान चाहेको छ । ‘आजकै बैठकवाट कांग्रेसले सडक संर्घषका कार्यक्रम घोषणा गरेर सडकमा आउन सक्नुपर्छ । त्यसका लागि पार्टी बैठकमा आवाज उठनेछ,’ नेता मिनेन्द्र रिजालले भने ।

प्रतिक्रिया दिनुहोस