न्यायको माग गर्दै अनशनरत गंगामायाको स्वास्थ्य गम्भीर

पत्रपत्रिकाबाट

शनिबार, १८ पुस २०७७, ०७ : ४९
न्यायको माग गर्दै अनशनरत गंगामायाको स्वास्थ्य गम्भीर

काठमाडौं । छोराको न्याय माग गर्दै ट्रमा सेन्टरको सातौं तलामा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। सरकारले छोराको हत्यारा पक्राउ गरी कारबाही गर्न नसकेपछि गंगामाया लामो समयदेखि अनशन बन्दै आएकी छन्। 

पछिल्लोपटक उनी १२ दिनदेखि अनशन बस्दै आएकी छन्। अनशन बस्दा स्वास्थ्य अवस्था निकै कमजोर बनेको र स्लाइन पानीसमेत गंगमायाले लिन अस्वीकार गरेको मानव अधिकारवादी चरण प्रसाईले जानकारी दिए।

उनले गंगामायाको जीवन बचाउन राज्य तत्तपर हुनुपर्ने भएपछि गुहार माग्दामाग्दै राज्यले नै बेवास्ता गरेको बताए। ‘सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ। यदी उहाँको ज्यान तलमाथि भए त्यसको जिम्मेवार सरकार हुनुपर्छ,’ उनले भने।

अवस्था गम्भीर बनेपछि चार दिनअघि उनलाई ट्रमाकै आइसियु कक्षमा राखिएको थियो। केही सामान्य भएपछि उनलाई सातौं तलाको सामान्य बेडमा सारिएको थियो। भोकै बसेका कारण उनको शरीर गलेको उपचारमा संलग्न चिकित्कको भनाइ छ।

उनको आँखा र पाखुरा सुन्निएको छ। उनको न्यायको लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की र अधिकारवादीहरू दमननाथ ढुंगाना, केदारभक्त माथेमा, शम्भु थापा, डा। वीरेन्द्र मिश्र, डा. गौरी शंकरलाल दासलगायतले आवाज उठाउँदै आएका छन्। यद्यपि गंगामायाले न्याय पाउन सकेकी छैनन् । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस