सर्वोच्चको आदेशसँगैे पाँच जना ‘एमिकस क्यूरी’ चयन

पत्रपत्रिकाबाट

शनिबार, १८ पुस २०७७, ०७ : ४२
सर्वोच्चको आदेशसँगैे पाँच जना ‘एमिकस क्यूरी’ चयन

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार, प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले ५ जना 'एमिकस क्यूरी' चयन गरेका छन् । नेपाल बार एसोसिएसनले तीनजना र सर्वोच्च अदालत बार एसोसिएसनले दुईजना वरिष्ठ अधिवक्तालाई मनोनयन गरेका हुन् । 

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार, नेपाल र सर्वोच्च बारबाट एमिकस क्यूरीको नाम सर्वोच्च अदालतमा पठाइसकेको बताए । उनले भने, ‘अब उहाँहरुले प्रतिनिधिसभा विघटनबारे आफ्नो राय दिन स्वतन्त्र हुनुहुन्छ । नेपाल बार एसोसिएसनले बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको हो भने सर्वोच्च अदालत बार एसोसिएसनले खगेन्द्र अधिकारी र पूर्णमान शाक्यको नाम चयन गरेको हो ।

‘एमिकस क्यूरी’लाई नेपाली भाषामा अदालतका सहयोगी भनेर चिनिन्छ । गम्भीर संवैधानिक एवं कानुनी प्रश्न जोडिएका विषयमा सर्वोच्च अदालतले विशेषज्ञता भएका कानुन व्यवसायीहरुको राय लिन बेलाबखत ‘एमिकस क्यूरी’ झिकाउने गर्छ । उनीहरुले दिने रायले न्यायाधीशहरुलाई न्याय निरुपणमा सहज हुन्छ । एमिकस क्यूरीले इजलासमा आफ्नो मत जुनसुकै रुपमा दिन पनि स्वतन्त्र हुन्छन् र उनीहरुले बहसनोट पनि पेस गर्छन् । यसरी बहस गर्दा उनीहरुले पारिश्रमिक भने पाउँदैनन् । कानुन व्यवसायीहरुमाझ ‘एमिकस क्यूरी’ हुन पाउनु प्रतिष्ठाको विषय हो ।

नेपाल बार एसोसिएनबाट मनोनित कार्की २०५५ देखि २०५८ सालसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा महान्यायाधिवक्ता भएका वरिष्ठ अधिवक्ता हुन् । उनले २०५१ सालमा भएको संसद् विघटनको मुद्दामा सरकारको तर्फबाट बहस गरेका थिए । २०५२ सालको विघटनमा उनले विघटनको विपक्षमा निवेदकहरुको तर्फबाट बहस गरेका थिए । २०५४ सालमा तत्कालीन राजाले मागेको रायबारे सर्वोच्च अदालतमा बहस गर्ने क्रममा कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बहस गर्दै प्रतिनिधिसभा विघटन हुनुपर्ने राय दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस