देशमा स्थिरता र स्थायित्व कायम गर्न संसद विघटन : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १६ : ४३
देशमा स्थिरता र स्थायित्व कायम गर्न संसद विघटन : गृहमन्त्री थापा

फाइल तस्विर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सरकारले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सरकारले अग्रगामी कदम चालेको उनको भनाइ थियो ।

उनले भने, ‘ठूलो कदम सरकारले लियो मध्यावधि निर्वाचनमा जाने । संसदलाई विघटन गर्ने, यो संवैधानिक हो की असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो की अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो । यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरी स्थायित्व ल्याउनको निम्ति र फेरी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’

संसद विघटन भएसँगै पार्टी भित्रको एउटा पक्ष संसद पुनस्र्थापनाको माग गर्दै पार्टीबाट अलग भएको उनले बताए । तर पहिलाको संसदले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनु पर्ने पनि नेता थापाले बताए । उनले देशमा स्थिरता नचाहने पक्षले संसद पुनरस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस