न्यानो कपडा बाँड्न पोखरादेखि चितवनको चेपाङ गाउँ

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, ०९ : २१
न्यानो कपडा बाँड्न पोखरादेखि चितवनको चेपाङ गाउँ

चितवन । पोखराका समाजसेवीहरु न्यानो कपडा बोकेर चितवनको चेपाङ गाउँ उक्लेका छन् । सिमान्तकृत समुदायमा पर्ने चेपाङका १४० जना बालबालिकालाई पोखराको लायन्स क्लब लेकसाइड र लायन्स क्लब पोखरा गार्डेनले इच्छाकामना गाउँपालिका–१ काउलेको हात्तीेबाङमा बुधबार न्यानो कपडा ज्याकेट वितरण गरेको छ ।

श्री राष्ट्रिय मावि हात्तीबाङ र आधारभूत विद्यालय भुलभुलेका विद्यार्थीले न्यानो कपडा पाएका हुन् । हात्तीबाङ स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मबहादुर चेपाङले क्लबले दिएको ज्याकेटले चिसोको मारमा परेका बालबालिकालाई ठुलो राहत हुने बताए । अधिकांस बालबालिका न्यानो कपडाबाटै बञ्चित हुने गरेको उनले सुनाए ।

विद्यालयका प्रधानअध्यापक लोकबहादुर मगरले साना विद्यार्थी पनि न्यानो लुगा बिनै स्कुल आउने गरेको र चिसो बढे पढ्नै छाड्ने गरेको बताए । राष्ट्रिय आधारभूत विद्यालय भुलभुलेका शिक्षक शर्मिला नेपालले पहाडमा चिसो बढ्ने तर राम्रो लुगा लगाउन नपाउने समस्या रहेको बताइन् । 

लायन्स क्लब पोखरा लेकसाइडका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले लायन्स सदस्यहरुमा सेवा गरौं भन्ने भावना हुने र आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा लगाउने बताए । क्लबका डिष्ट्रिक एडभाइजर जयराम तिमिल्सिनाले आफुहरुले केही वर्षयता चितवनका विभिन्न ठाउँमा सहयोग कार्यक्रम गर्दै आएको बताए ।

क्लबका पुर्व अध्यक्ष तथा डिष्ट्रिक ३२५ बी१ नेपालका रिजन चेयर पर्सन रामु गौतमले माडीको कुसुमखोलाका चेपाङ बालबालिकालाई पनि क्लबले गत वर्ष न्यानो कपडा दिएको बताए । ‘हामी आ–आफ्नो व्यवसाय गरेकाहरुले जुटाएको सहयोगले यसरी काम गर्दछौं । बाहिरबाट कुनै सहयोग आएको हैन ।

अघिल्ला वर्षहरुमा चितवनकै अन्य ठाउँ गएका थियौं । यो वर्ष पहाड आयौं’ गौतमले भने । इच्छाकामाना गाउँपालिका सिमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएको जिल्लाको पहाडी क्षेत्र हो । 
 

प्रतिक्रिया दिनुहोस