खानामा प्रोटिनको मात्रा बढी, के साँच्चै नै प्रोटिन धेरै खाँदा स्वास्थ्य राम्रो हुन्छ ? थाहा पाऔं

रासस

मंगलबार, १४ पुस २०७७, १० : ५९
खानामा प्रोटिनको मात्रा बढी, के साँच्चै नै प्रोटिन धेरै खाँदा स्वास्थ्य राम्रो हुन्छ ? थाहा पाऔं

काठमाडौं । प्रोटिन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यसले शरीरमा क्षति भएका भागहरू निको पार्ने काम गर्छ । यसका साथै दिमागलाई तीक्ष्ण बनाउनमा मद्दत गर्छ । तर नियमित रूपमा उच्च मात्रा भएमा यसले स्वास्थ्यमा ठुलो जटिलता निम्त्याउँछ ।

प्रोटिनको मात्रा नियमित रूपमा बढी भएमा निम्न स्वास्थ्य समस्या निम्त्याउने विज्ञहरूले बताएका छन् 

बोन डिसअडर
यो हड्डीसँग सम्बन्धित रोग हो । २०१३ मा लोनिस डेलिमेरिसको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार प्रोटिनको अत्यधिक सेवन हाम्रो हड्डीका निम्ति खतरनाक सावित हुन जान्छ । मांशपेशी वा पोषण तत्वको पूरक औषधी प्रयोगकर्ताका लागि अझ बढी सावधानी हुनुपर्ने जरुरी हुन्छ ।
बढी प्रोटिन डाइटले शरीरमा उत्पादन भएको एसिड ‘लस अफ क्यासियम’ जस्तो समस्या निम्त्याउँछ । यो हड्डीका लागि खतरा हुन सक्छ । यस्तै रातो मासुभन्दा सागसब्जीबाट प्राप्त हुने प्रोटिन कम खतरनाक हुने अध्ययनले देखाएको छ । 

मुटुरोगको जोखिम
जनावरको मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोग निम्त्याउने खतरा हुने वैज्ञानिकहरूले बताएका छन् । यसैबीच माछा, कुखुराको मासु तथा बोसो कम भएका मासुबाट प्राप्त हुने प्रोटिनले यसको खतरा कम हुन्छ ।

मिर्गौलामा समस्या
अत्यधिक प्रोटिन डाइटको प्रयोगले मिर्गौलामा समेत समस्या पैदा गराउँछ । यसले मिर्गौमा पत्थरी हुने खतरा बढाउँछ । यो अध्ययनबाट सावित भएको कुरा हो । हार्वड विश्वविद्यालयको एक रिपोर्टअनुसार जनावरबाट प्राप्त हुने अत्यधिक प्रोटिनले मिर्गौलाको समस्या बढ्ने खतरा हुन्छ । त्यसैले मिर्गौला रोगीलाई प्रोटिनको आपूर्ति फलफूल तथा सागसब्जीको सेवनबाट गर्न सुझाइन्छ ।

क्यान्सर हुने जोखिम
रातो मासु प्रोटिनको प्रमुख स्रोत मानिन्छ । तर केही शोधकर्ताका अनुसार धेरै रातो मासुको सेवनले पेटको क्यान्सर हुने खतरा बढी हुन्छ । पुरुषमा यो समस्या अझ बढी हुने अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरूका अनुसार प्रोटिनको उच्च मात्रा लिनु मांशपेशीका लागि केही समय राम्रो भएपनि अन्ततः यसले नकारात्मक असर गर्दछ ।

मुखबाट गन्ध आउने
प्रोटिनको धेरै मात्रा सेवन गर्दा मुखबाट नमिठो गन्ध आउने समस्या पनि हुन्छ । यसको धेरै मात्रा सेवन गर्दा हाम्रो शरीररको केटोसिस नामक मेटाबोलिक स्टेटमा यो जम्मा हुन जान्छ । त्यहाँबाट एक किसिमको केमिकल निस्कन्छ, जुन मुखमा गन्ध आउने खास कारण बन्न जान्छ ।

जलवियोजन
शरीरमा प्रोटिनको मात्रा बढी हुँदा जलवियोजनको समस्या हुन जान्छ । सन् २००२ मा प्रकाशित एक अध्ययनअनुसार शरीरमा प्रोटिनको मात्रा अधिक हुँदा पानीको मात्रा कम भएर जान्छ । यदि पानीको मात्र पर्याप्त आपूर्ति भएन भने जलवियोजनको खतरा बढ्न जान्छ । पानीले शरीरको विकारलाई बाहिर फाल्ने काम गर्छ । त्यसैले प्रोटिनको मात्रा मिलाउन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस