प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १७ : ४२
प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा : अध्यक्ष प्रचण्ड

फाइल तस्विर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुरको बाटोमा हिंडेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासकजस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन् । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताए । 

उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनीहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखेँ मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं । केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंड्नु भयो । त्यहींबाट उहाँ पराजित हुनुभयो, हाम्रो विजयको सुरुवात भयो ।’

पार्टीभित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पु¥याएको पनि अध्यक्ष प्रचण्डले बताए । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको अध्यक्ष प्रचण्डको भनाइ थियो । संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको उनले बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कै पनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतकोबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले, गुटवादी तरिकाले पार्टी विधि पद्धतिभन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो तर त्यो पार्टीभित्रको संघर्ष थियो । पार्टीभित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टिका लगाउनुभयो । फेरि एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको प्रचण्डले बताए । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरि एकपटक लड्ने मुद्दा दिनुभएकोले अब हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताए । तर पछिल्लो समय जे भइराखेको छ, त्यो क्रान्ति र प्रतिक्रान्तिको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको उनको भनाइ थियो । 

उनले भने, ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ती र प्रतिक्रान्तीको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगती र दुर्गतीको बीचको लडाईको रुपमा रहेको छ ।’

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको बिचारमा गम्भीर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताए । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा बैचारिक संस्कृतिक समस्या आएको बताउँदै उनले त्यस्तै समस्या अहिले नेपालमा देखा परेको बताए । 

उनले भने, ‘आज हाम्रो कम्युनिष्ट पार्टी भित्र पनि एउटा ठूलो बैचारिक संंस्कृतिक बिचलन देखा प¥यो । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी बिचलन देखा प¥यो । हामीले झण्डै ७० वर्ष लामो लडाई लडेर ल्याएको उपलब्धीमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि निर्मम र कुप्रहार भएको छ । कम्युनिष्ट पार्टी भित्रैबाट तपाई हामीले नै अगाडि बढाएको नेतृत्वबाट ७ दशक लगाएर हजारौं हजार सहिदहरुको बलिदान लाखौंको त्याग करोडौंको सहभागिता समूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा संघीय लोकतान्त्रीक संविधान बनाइएको छ ।’

२०४७ सालपछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको अध्यक्ष प्रचण्डले बताए । संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको उनले बताए । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको अध्यक्ष प्रचण्डले बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘अहिले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो । यो सदन माथिको मात्रै प्रहार होइन । यो सांसदहरुको सार्वभौंम अधिकार माथिको मात्रै प्रहार होइन ।’

उनले प्रतिनिधि सभा नमरेको समेत बताए । प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताए । उनले भने, ‘सदन मरेको छैन, सदन जीवित छ । सदन विघटन भएको छैन । सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनताका विरुद्धमा संविधानको मर्म र भावना विपरित गएपछि उ विघटित भएको हो ।’

सम्मानित अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मानप्रति अपमान भएको ठहर्ने प्रचण्डले बताए । उनले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधानमाथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेशीता र समावेशी लोकतन्त्रको हक अधिकारमाथिको प्रहार भएको प्रचण्डले बताए । 

उनले भने, ‘केपी ओलीले जुन ढंगले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेशीता, र समावेशी लोकतन्त्रको हक अधिकार माथि जो प्रहार गरेका छन त्यो सही हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस