राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए

पत्रपत्रिकाबाट

सोमबार, १३ पुस २०७७, ०६ : ४७
राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ ।

तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि आश्चर्यचकित बनेको चीन नेकपा पार्टी विभाजनबाट चिन्तित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको भ्रमण नेकपालाई एकजुट बनाउने प्रयासमा केन्द्रित हुनेछ । यसअघि पनि नेकपामा विवाद भएको बेला चिनियाँ राजदूत होउ यान्छीले विशेष भूमिका निर्वाह गरेकी थिइन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस