कोरोना सन्त्रासमा किन चुलियो च्यवनप्राशको माग ?

पत्रपत्रिकाबाट

शुक्रबार, १० पुस २०७७, ०७ : ४८
कोरोना सन्त्रासमा किन चुलियो च्यवनप्राशको माग ?

काठमाडौँ । अनलाइन सपिङका प्रायः ‘प्ल्याटफर्म’ मा हिजोआज जुनसुकै कम्पनीका भए पनि च्यवनप्राश अनिवार्य राखिएको छ । कोभिड–१९ को संक्रमण फैलिएसँगै रोग प्रतिरोधी क्षमता बढाउने भनिएको आयुर्वेदिक च्यवनप्राशको माग अत्यधिक बढेसँगै ‘अनलाइन अर्डर’ चुलिएको छ ।

च्यवनप्राश उत्पादक र वितरक कम्पनीका अनुसार गत वर्षको तुलनामा यस पटक माग दोब्बर पुगेको छ । नेपाली बजारमा मुख्यगरी डाबर नेपाल, गोरखा आयुर्वेदिक कम्पनी, सिंहदरबार वैद्यखाना, पतञ्जलि र झन्डुका च्यवनप्राश उपलब्ध छन् । सरकारी लगानीको सिंहदरबार वैद्यखानाले माग हुने सिजनमै यसको उत्पादन गर्न नसकेपछि धेरै कारोबार गर्न सकेको छैन । अन्य कम्पनीलाई पनि मागअनुसारको च्यवनप्राश पुर्‍याउन भ्याइनभ्याइ नै छ ।

च्यवनप्राशमा सबैभन्दा बढी बजार हिस्सा डाबर नेपालको छ । ‘७० प्रतिशतभन्दा बढी हाम्रो उत्पादन हो,’ डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले भने, ‘७७ वटै जिल्लामा हाम्रा उत्पादन बिक्री हुन्छ ।’ अनलाइनमार्फत फाट्टफुट्ट कारोबार भइरहे पनि अन्य माध्यमबाट हुने बिक्री बढी छ । गोर्खालीका अनुसार डाबर नेपालले पाँच प्रकारका बट्टामा च्यवनप्राश बिक्री गर्दै आएको छ ।

१ किलोको ५४० रुपैयाँ, पाँच सय ग्रामको ३ सय रुपैयाँ, २५० ग्रामको २५५ रुपैयाँमा डाबरका च्यवनप्राश बिक्री हुने गरेको छ । ९ सय र ५ सय ग्रामका सुगर फ्री च्यवनप्राश पनि छन् । जसको मूल्य ५४० र ३१५ रुपैयाँ छ । डाबर नेपालले नेपालमै उत्पादन गरेका च्यवनप्राश बिक्री गर्ने गरेको छ । ‘झन्डै ३० वर्षदेखि उत्पादन र बिक्रीको काम गरिरहेका छौं,’ गोर्खालीले भने, ‘४५ भन्दा बढी जडीबुटीबाट बन्छ च्यवनप्राश ।’

जडीबुटी प्रायः नेपालमै उत्पादन हुने गरेको छ । ‘केही जडीबुटी बाहिरबाट पनि आयात गर्ने गरेका छौं,’ उनले भने । कोरोनाका संक्रमितलाई स्वास्थ्यकर्मीले समेत च्यवनप्राश खान सुझाउने गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस