चितवन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पर्यटनले आर्थिक वृद्धिदरमा सहयोग पुग्ने भएकोले सीमापारको पर्यटनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार नारायणगढमा संयुक्तरुपमा आयोजना गरेको नेपाल भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत पुरीले यस्तो बताउनु भएको हो ।
‘पर्यटनले देशको आर्थिक वृद्धिदरमा सहयोग गर्छ’ राजदूत पुरीले भन्नुभयो, ‘नेपाल र भारतबीच सीमापार (क्रसबोर्डर) पर्यटनको धेरै ठूलो सम्भावना छ । यसका लागि पर्यटन प्रवद्र्धन आवश्यक छ ।’ उहाँले इलामका मानिस सपिङको लागि दार्जिलिङ पुग्नु र दार्जिलिङका मानिस घुम्नको लागि इलाम आउनु सीमापार पर्यटनको नमुना भएको बताउनु भयो । यसले पर्यटनमात्र नभएर द्विदेशीय सम्बन्धमा पनि सुधार ल्याएको उहाँको धारणा छ ।
दुई देशबीच पर्यटक आदानप्रदान गर्न सक्ने सम्भावनाको खोजी गर्नुपर्ने विचार व्यक्त गर्दै भारतीय राजदूत पुरीले पर्यटन प्रवद्र्धन गरेर दुबै देशमा पर्यटन व्यवसायलाई उकास्न सकिने बताउनु भयो । उहाँले नेपालमा प्रकृतिको देन बलियो रहेको बताउँदै मानिसहरुबीच अन्तरक्रिया गर्ने सशक्त माध्यम पर्यटन भएकोले पर्यटनको विकासले सम्बन्ध बिस्तारमा सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो ।
गोष्ठी उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वाग मन्तव्य व्यक्त गर्दै नेपालले आर्थिक समृद्धिका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र पर्यटन नै भएको बताउनु भयो । उहाँले नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा पर्यटकीय पूर्वाधारहरुको विकास गरेर पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
देशकै मध्यभागमा अवस्थित एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण भरतपुर महानगरलाई समृद्ध तथा आत्मनिर्भर बनाउने प्रमुख क्षेत्र पर्यटनको प्रवद्र्धन र विकास गरेर आर्थिक समृद्धिलाई सम्भव तुल्याउन सकिने उहाँको भनाइ थियो । देवघाटदेखि वनारस, गया, मुक्तिनाथ, मानसरोवर तीर्थयात्राको लागि भरतपुर ट्रान्जीट मार्गको रुपमा विकास गर्न भरतपुरदेखि गया र वनारस सिधा यातायात सञ्चालन गर्नु पर्ने उहाँले बताउनु भयो ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका र समग्र चितवनको गहनाको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, दूर्लभ एकसिँगे गैँडा, पाटेबाघ लगायत वन्यजन्तु तथा सिमसार, रामसारको संरक्षणका लागि निजी क्षेत्र तथा छिमेकी देश भारतलाई लगानिको लागि आह्वान गर्नुभयो ।
गोष्ठी उद्घाटन सत्रमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल, मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल र भारतीय महावाणिज्यदूत बीसी प्रधानले मन्तव्य व्यक्त गर्दै पर्यटनका माध्यमबाट आर्थिक विकास सम्भव भएको धारणा व्यक्त गरेका थिए । गोष्ठी उद्घाटन सत्रमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नेपाल र भारतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न गोष्ठी आयोजना गरिएको आयोजकको भनाइ रहेको छ । तीनदिने गोष्ठीको पहिलो दिन आज कार्यपत्र प्रस्तुति भएको छ भने दोस्रो दिन भोलि पर्यटकीय क्षेत्रको अवलोकन र तेस्रो दिन आइतबार बिजनेस टु बिजनेस मिटिङ हुनेछ । यो कार्यक्रमबाट दुई देशका पर्यटनसँग सम्बन्धित व्यक्ति, समूह, संस्था, व्यवसायी र निकायसँग राम्रो सम्बन्ध बिस्तार हुने र पर्यटकीय सम्पदाहरुको उजागर हुने विश्वास लिइएको छ ।
चितवनको करिब आधा भाग आगटेको भरतपुर महानगरपालिकाभित्र पर्यटकीय स्थलका रुपमा पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम, जल पर्यटनका लागि असिम सम्भावना बोकेको नारायणी नदी, राप्ती नदी, पर्यापर्यटनको प्रचुर खानी चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका पटिहानी, जगतपुर, मेघौली, बीसहजारी ताल, बाटुली पोखरी, रानी पोखरी, ज्ञानेश्वर ब्लक, वागीश्वरी, गणेशस्थान, हाइकिङका लागि कविलासमा रहेको चौकीडाँडा लगायतका क्षेत्र परिचित छन् ।
प्रतिक्रिया दिनुहोस