प्रचण्ड माधव समूहमा को बन्दैछ महासचिव ?

सफल खबर संवाददाता

बुधबार, ०८ पुस २०७७, १५ : ५८
प्रचण्ड माधव समूहमा को बन्दैछ महासचिव ?

काठमाडौं । सिङ्गो नेकपाका महासचिव थिए–विष्णु पौडेल । राजनीतिक रुपमा नेकपा अलगअलग भइसकेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको एउटा नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को नेकपाले छुट्टाछुट्टै भेला र संगठन निर्माण गरिरहेका छन् । दुबैले आफ्नो समूहलाई नेकपाको मूल धार मानेका छन् । 

नेकपाका महासचिव विष्णु पौडेल केपी ओली समूहमा गएपछि प्रचण्ड माधव समूहको नेकपामा महासचिव पद खाली भएको छ । प्रचण्ड माधव समूहमा कसलाई महासचिव बनाउने भन्ने विषयमा रस्साकस्सी चल्न सुरु भइसकेको छ । नेकपा प्रचण्ड–नेपाल समूहमा महासचिवका लागि तीनजना आकांक्षी देखिएका छन् । तीन जनाले महासचिव बन्नको लागि लविङ थालिसकेका छन् । स्रोतका अनुसार जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे महासचिवको दौडमा छन् ।

प्रचण्डले जनार्दन शर्मालाई महासचिव बनाउन कसरत गरेका छन् । जनार्दन शर्मा दाहालका विश्वासपात्र मानिन्छन् । उनी पूर्व माओवादीबाट आएका हुन् । यसअघि उर्जामन्त्रीसमेत भएका शर्माले महासचिव बन्नको लागि दौडधूप गरिरहेका छन् । त्यस्तै महासचिवको अर्का आकांक्षी हुन् सरेन्द्र पाण्डे । उनलाई झलनाथ खनालले महासचिव बनाउन जोड गरेका छन् । पाण्डे साविक एमालेको नवौँ महाधिवेशनमा महासचिवमा उठेका थिए, उनी ईश्वर पोखरेलसँग पराजित भएका थिए । 

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्रीसमेत भएका पाण्डे पनि महासचिव बन्नलाई जोड गरिरहेका छन् । यस्तै, माधवकुमार नेपालले भीम रावललाई महासचिव बनाउन खोजेका छन् । प्रधानमन्त्री ओलीको कट्टर आलोचक बनेका रावल तत्कालीन एमालेमा उपाध्यक्ष थिए । उपप्रधानमन्त्रीसमेत बनेका रावल पनि महासचिव बन्ने दौडमा छन् । 

प्रतिक्रिया दिनुहोस