प्रधानमन्त्री ओलीको के सन्देश बोकेर पुगे शंकर पोखरेल फेरी खुमलटार ?

अध्यादेश प्रकरण पछि हिजै ओली निकट नेता सुवास नेम्वाङ प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने अहिले बिहानै शंकर पोखरेल, यी दुवैको मिसन ओलीको पार्टीभित्रका विपक्षी नेताहरुलाई अल्मलाउने र आफ्नो निर्णय फटाफट गरेर अगाडी बढने पछिल्लो रणनीति अन्तर्गत नै प्रचण्डलाई ‘इन्गेज’ मात्र गराउन पुगेका हुन्

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, ११ : ०८
प्रधानमन्त्री ओलीको के सन्देश बोकेर पुगे शंकर पोखरेल फेरी खुमलटार ?

काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का बीचमा सम्बन्ध अहिले अत्यन्त तिक्त छ । गत बिहीबार दुई अध्यक्षका बीचको भेटघाटमा पनि दुवै आफ्नै अडानमा रहेर बाँझाबाँझ गरेर बाहिरिदा अध्यक्ष प्रचण्डले ओली सामु एउटा प्रस्ताव गरे– अब तपाई र म एक्लाएक्लै नभेटौं । एक्लाएक्लै भेट्दा झन विवाद सल्टाउने दिशामा भन्दा बल्झाउने दिशामा मात्र केन्द्रीत हुन थाल्यो । भेट्नै पर्यो र आपसी कुरा आदान प्रदान गर्नुपर्ने भयो भने विश्वासिला नेतामार्फत सन्देश आदानप्रदान गरौं । ‘ 

ओलीले पनि प्रचण्डको प्रस्तावमा जवाफ फर्काईहाले, लौं ठिकै छ, त्यसै गरौं । प्रचण्डले ओलीसँग यस्तो प्रस्ताव राख्नुको आफ्नै कारण थियो । त्यो हो, ओली जहिल्यै प्रचण्डको प्रस्तावलाई अराजनीतिक मात्र भन्ने, अनि आफुले खारेज गरिदिएको प्रस्तावमा छलफल हुन्न मात्र भनिरहने । धम्कीयुक्त शब्दमा अनेक स्टेप चाल्न आफु तयार रहेको मात्र बोलिरहने । कारवाही गरेर देखाउ मात्र भनिरहने । समस्या समाधानमा कुनै चासो नदेखाउने ।

एक सचिवालय सदस्यले सफलखबरसँग भने,–‘प्रधानमन्त्रीले प्रचण्डलाई इन्गेज गराईराख्नको लागि र थप कुनै निर्णयमा नपुगोस भन्नका लागि आफ्ना दूतहरु पठाउन थालेका छन्, आफु अध्यादेश ल्याउने र प्रचण्डले कुनै स्टेप नचालुन भनेर फेरि सम्वादमा बस्नुस भन्दै नेम्वाङ जी लाई खुमलटार पठाउनु भयो । यो अलमलाउने खेल अन्तर्गत भईरहेको छ ।’

भित्र बैठकमा ओलीसँग भनाभन मात्रै हुने तर बाहिर भने भेट पछि उनको सचिवालयका नेताहरुले प्रचण्ड ओली सहमति नजिक भन्दै दुस्प्रचार गर्ने, भ्रम फैलाउने र माधव नेपालसँगको समिकरण भत्काउन अनेक जाल बुन्ने । यो बुझेर नै प्रचण्डले निरर्थक वार्ताको अर्थ नहुने भन्दै विश्वासिला नेतामार्फत कुरा गर्ने भन्दै बाहिरिएका थिए । त्यसयता दुई अध्यक्षको प्रत्यक्ष सम्वाद छैन् । गत २८ मंसिरको स्थायी समिति बैठकमा कमान सिंह लामाको शोक प्रस्ताव पारित गराउने र दुई दिन समय स्थगित गरेर स्थायी समिति चलाउने प्रस्ताव ओलीसँग सहमति जुटाउन महासचिव विष्णु पौडेल सन्देश बाहक बन्नु परेको थियो ।

  त्यसपछि ओली र दाहालका बीचमा सोमबार २९ मंसिरमा साँझ टेलिफोन सम्वाद भने भएको थियो । उक्त सम्वादमा ओलीले सभामुख अग्नि सापकोटालाई उचाल्ने ? सम्वैधनिक परिषदको बैठकमा भेटेरै जनाउ भनेर भन्ने ? भन्दै प्रचण्डसँग झगडाको शैलीमा ओली प्रस्तुत भएका थिए । आफु निकट नेता खगराज अधिकारीलाई संसदीय दलको प्रमुख सचेतक बनाउने भन्दै अहिलेका प्रमुख सचेतक देव गुरुङलाई हटाउने सम्मको ध्वाँस ओलीले प्रचण्डसँग टेलिफोन सम्वादमा गरे ।

पार्टीभित्रै एक्लिदै र अल्पमतमा पर्दै जान थालेपछि अत्तालिएका ओलीले आफ्नो कदम अगाडी बढाउने, प्रचण्ड र नेपाल समुहलाई अलमलाउने र कमजोर बनाउने रणनीति अहिले अख्तियार गर्न खोजेका छन् । ‘फुटाउ र राज गर’ को शैलीमा केही समय पार्टी र सरकारमा राम्रै तामझाम देखाउन सफल भएपनि ओलीको यो अस्त्र अब काम नलागेपछि उनी पार्टीभित्रका इतर समुहका नेतालाई अल्मलाउने र आफनो योजना फटाफट कार्यान्वयनमा लैजाने रणनीतिका साथ अगाडी बढन थालेका छन् ।

यसो गर्दा उनले पार्टी एकता सोचेका छैनन्, पार्टी विग्रह नै उनको दिल दिमागमा छ । तर कसरी आफु बलियो बनाउने, प्रचण्ड माधव नेपाल समिकरण कसरी तोड्ने र उनीहरुलाई अर्कमन्यतामा कसरी राख्ने र निर्णय कुनै गर्न नसक्ने गरी बन्धक कसरी बनाउने ? भन्नेमै ओलीको दाउ देखिएको छ । मंगलबार उनले सभामुख अग्नि सापकोटा सम्वैधनिक परिषदको बैठकमा सहभागी नभएको विषयलाई कारण देखाउँदै संविधान माथी नै कु गर्ने गरी सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए । पार्टी स्थायी समिति बैठक चलिरहेका बेला, संसदकै अधिवेशन बोलाउनै पर्ने मुखमा रहेका बेला प्रतिपक्षी दल र ब्यवस्थापिकाका प्रमुख सभामुख बाहेक पनि आफ्नो एकलौटी सम्वैधानिक निकायको नियुक्ति गर्न सक्ने गरी उनले सम्वैधानिक परिषदको काम कर्तब्य सँग सम्बन्धित अध्यादेश ल्याए ।

आफ्नै क्याबिनेटका मन्त्रीलाई समेत छलेर उनले त्यो अध्यादेश आफ्नै कोटरीकी राष्ट्रपति (जो राष्ट्रपति भन्दा पनि ओली गुटको संरक्षक बनिरहेकी छिन्) बाट हतारमा जारी गर्न लगाएर ल्याए , त्यसपछि प्रचण्ड नेपाल समुहले उनीमाथी चाल्न सक्ने स्टेप रोक्न उनले खुमलटारमा आफ्ना दूतहरुलाई पठाउन र प्रचण्ड माधव नेपाललाई अलमलाउने नीति अख्तियार गरे । प्रधानमन्त्री सबै विषयमा बसेरै छलफल गर्न तयार हुनुहुन्छ, तपाईहरु सम्वादमा बस्नुस, दुई अध्यक्ष मिल्नुस्, अझै पनि ओलीका दूतहरु प्रचण्ड कँहा यस्तै सन्देश लिएर पुग्न थालेका छन् । हिजो ओलीले अध्यादेश ल्याएपछि यसमा आपतकालिन छलफलका लागि प्रचण्ड निवासमा बहुमत सचिवालय सदस्य छलफलमा बसेका थिए । त्यो छलफलले कुनै स्टेप चाल्न सक्छ , त्यसलाई रोक्न पर्छ भन्दै ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रचण्ड भेट्न पठाए ।

एक सचिवालय सदस्यले सफलखबरसँग भने,–‘प्रधानमन्त्रीले प्रचण्डलाई इन्गेज गराईराख्नको लागि र थप कुनै निर्णयमा नपुगोस भन्नका लागि आफ्ना दूतहरु पठाउन थालेका छन्, आफु अध्यादेश ल्याउने र प्रचण्डले कुनै स्टेप नचालुन भनेर फेरि सम्वादमा बस्नुस भन्दै नेम्वाङ जी लाई खुमलटार पठाउनु भयो । यो अलमलाउने खेल अन्तर्गत भईरहेको छ ।’

यतिमात्रै होइन, आजको स्थायी समिति बैठकमा प्रधानमन्त्रीको कदममा एजेण्डा नै बनेर छलफल गर्ने तयारी प्रचण्डले गरेका छन् । त्यसलाई कसरी रोक्ने र त्यहाँ प्रधानमन्त्री विरुद्ध कुनै स्टेप चल्न सक्छ की भनेर अलमलाउन र समय गेन गर्न ओलीले फेरि अर्का आफ्ना विश्वासिला दूत प्रचण्ड निवास पठाएका छन् । ओलीले लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेललाई अहिले बिहान प्रचण्ड निवास पठाएका हुन् ।

पोखरेलले दुई अध्यक्षलाई वार्तामा बस्न आग्रह गर्दै झण्डै ४५ मिनेट अलमलाएर बालुवाटार फर्केका छन् । उनले प्रचण्डलाई अझैं ओलीसँग सम्वाद गर्न आग्रह गरेर फर्केको स्रोतले बताएको छ । उनले स्थायी समिति बैठक आज नराख्न र केही दिन रोकेर छलफलमा बस्न आग्रह गरेर फर्केको स्रोतले बताएको छ ।

स्थायी समिति बैठक आजै राख्दा प्रधानमन्त्री विरुद्द पार्टी भित्र बलियो मत बन्ने देखेपछि त्यसलाई तै पनि रोक्न र अलमलाउन सकिन्छ की भनेर ओलीले पोखरेललाई दूत बनाएर प्रचण्ड निवास पठाएका थिए । तर प्रचण्डले भने अब बैठक नरोकिने र जे निर्णय गर्छ, बैठकले नै गर्छ भन्दै जवाफ दिएर फकाईदिएको बताईएको छ ।