महिला मृत फेला, सातजना पक्राउ

पत्रपत्रिकाबाट

शनिबार, २७ मंसिर २०७७, ०८ : ०४
महिला मृत फेला, सातजना पक्राउ

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ फूलबारीस्थित एक घरटहरामा एक महिला मृत फेला परेकी छिन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको खानीखोला गाउँपालिका घर भएकी ४३ वर्षीया अन्तरीमाया थिङ मृत अवस्थामा फेला परेकी हुन्।

उनी फूलबारीस्थित मीनबहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरटहरामा डेरा गरी बस्दै आएको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए। उनका अनुसार खत्रीको दुईकोठे घरटहरामध्ये एउटामा थिङको परिवार र अर्कोमा ज्यालामजदुरी गर्ने सातजना पुरुष मजदुरहरु बस्दै आएका थिए।

दुईकोठे उक्त घरटहरामध्ये थिङ मजदुर बस्ने कोठामा मृत भेटिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए। थिङ मृत फेला परेपछि उक्त कोठामा डेरागरी बस्ने सातैजना मजदुरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए। नियन्त्रणमा लिएका मजदुरहरुले दिएको बयानअनुसार त्यसदिन थिङले अधिक मादकपदार्थ सेवन गरेकी थिइन्। एउटै घरटहरामा बस्ने भएकाले थिङ र मजदुरहरुबीच राम्रै बोलचाल थियो। कोठामा पनि आउजाउ रहेको देखिएको प्रहरी अधिकारी बताउँछन्। 

मजदुरहरुले चाँगुकै एक निर्माण व्यवसायीको मातहतमा काम गर्दै आएका छन्। जसले गर्दा उक्त कोठामा उनीहरु खाने र सुत्नेमात्रै भएकाले कहिल्यै ताला नलाग्ने पाइएको प्रहरी निरीक्षक बुढाथोकी बताउँछन्।उनका अनुसार श्रीमान र सुस्त मनस्थिति भएकी आठ वर्षीया छोरीसँगै बस्दै आएका थिङ पनि ज्यालामजदुरी नै गर्छन् तर घटना भएको २–३ अघिमात्रै थिङका श्रीमान गाउँ गएको उनले बताए।

‘घटना भएको दिन मजदुरहरु बिहानै काम गर्न गएका रहेछन्’, मजदुरहरुले दिएको बयान उद्धृत गर्दै प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘उनीहरु बिहानको खाना खान आउँदा अधिक मादक पदार्थ सेवन गरेकी अन्तरीमाया थिङ मजदुरहरुको कोठामा आएका रहेछन्। उनलाई कोठामै छाडेर खाना खाइसकेपछि मजदुरहरु फेरि काममा गएछन्।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस