बैंकिङ प्रणालीमा सवा खर्ब अधिक तरलता

पत्रपत्रिकाबाट

विहीबार, २५ मंसिर २०७७, ०८ : १४
बैंकिङ प्रणालीमा सवा खर्ब अधिक तरलता

काठमाडौं । वित्तीय प्रणालीमा बुधबारसम्म १ खर्ब १४ अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । 

यो रकम बैंक तथा वित्तीय संस्थाले सबै लगानी गर्न पाउँछन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढेको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह बढेको छ । तर वित्तीय प्रणालीमा रहेको अधिक तरलतामा खासै कमी आएको छैन ।

करिब दुई साताअघिसम्म पौने २ खर्ब हाराहारीमा रहेको अधिक तरलता बुधबारसम्म सवा खर्ब रुपैयाँमा झरेको छ । तर बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढेर अधिक तरलता घटेको होइन । सानो परिमाणमा कर्जा प्रवाह बढेको भए पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाएकाले अधिक तरलतामा कमी आएको हो ।

हाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत दुई पटक गरी ७१ अर्ब ८० करोड रुपैयाँ बजारबाट तानेको छ । एक पटक २१ अर्ब ८० करोड र अर्को पटक ५० अर्ब रुपैयाँ गरी २८ दिनका लागि उक्त रकम तानिएको हो । २८ दिनपछि सो रकम पुनः प्रणालीमा फर्किनेछ । कान्तिपुरमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस