किन घट्यो पीसीआर परीक्षण ?

पत्रपत्रिकाबाट

सोमबार, २२ मंसिर २०७७, ०७ : ५६
किन घट्यो पीसीआर परीक्षण ?

काठमाडौं । कोभिड–१९ को पीसीआर परीक्षण केही दिनयता उल्लेख्य रूपमा घटेपछि संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण भएको छ । सरकारी प्रयोगशालामा केही महिनाअघिसम्म दिनमा १० हजारभन्दा बढी नमुनाको पीसीआर परीक्षण हुने गरेकामा हाल ६ हजार हाराहारी परीक्षण भइरहेको छ । 

सरकारले परीक्षणमा कमी ल्याउने मनसायले बनाएको टिप्पणी गर्दै विज्ञहरूले न्यून परीक्षणले कुनै पनि बेला संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनीसमेत दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पीसीआर परीक्षण प्रक्रियालाई सरकारले ‘नियोजन’ गर्न खोजेको बताए । ‘परीक्षण गराउन गएकाहरू स्वास्थ्य संस्थाले तपाईं निःशुल्कको दायरामा पर्नुभएन, शुल्क तिर्नुपर्छ भन्दा त्यत्तिकै फर्कने गरेका छन्,’ उनले भने ।

उनले हाल कन्ट्याक्ट ट्रेसिङ नभएर पनि नमुना कम संकलन भइरहेको बताए । वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले वाग्मती प्रदेशमा ३ दिनयता ६० देखि ७० प्रतिशतसम्म परीक्षण निजी प्रयोगशालामा भइरहेको बताए । कोभिड परीक्षण गर्ने सबैभन्दा बढी निजी प्रयोगशाला वाग्मती प्रदेशमा छन् ।

डा। बीसीले विभिन्न बाध्यताका कारण आमनागरिकले खुलेर परीक्षण गराउन नचाहने गरेको बताए । मुलुकको केन्द्रीयस्तरको एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा पहिले दिनमा हजारौंको पीसीआर परीक्षण गरेको थियो । हाल एक–दुई सय नमुनाको मात्र परीक्षण भइरहेको छ ।

पहिले विभिन्न पेसागत समूहबाट संकलन गरिने नमुनासमेत धेरै हुन गर्थ्यो । एनपीएचएलकै एक प्राविधिकले सरकारले निःशुल्क परीक्षणको मापदण्ड झन्झटिलो बनाएकाले पनि नमुना घटेको बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस