बुटवलमा खाग तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर चलाए गोली, तीन जना पक्राउ, एक घाइते

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १३ : ३९
बुटवलमा खाग तस्कर समूहले प्रहरीको पेस्तोल खोसेर चलाए गोली,  तीन जना पक्राउ, एक घाइते

बुटवल । बुटवलको  एक होटेलमा प्रहरी र गैँडा तस्करबीच गोली हानाहान भएको छ । गैँडाको खाग तस्कर भइरहेको सूचना पाएपछि सादा पोसाकमा प्रहरीको टोली उक्त होटलमा पुगेको थियो । 

प्रहरीले चार जना बसेको कोठामा चुकुल लगाइदिएर थप प्रहरी बल बोलाएको थियो । ढोका फोरेर खाग तस्कर भाग्न खोज्दा प्रहरीले तस्करलाई पक्राउ गरेका हुन् । तस्कर समूहले प्रहार गरेको गोली लागेर उनीहरुकै समूहको एक जना घाइते भएको प्रहरीको भनाइ छ । बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइतेको चिउँडोमा गोली लागेको छ ।

प्रहरीले गैँडाको खागसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतको लेकबेँसी गाउँपालिकाका ३१ वर्षीय भक्तबहादुर थापा, जाजरकोटको बारेकोट गाउँपालिका ४ बस्ने २६ वर्षीय कर्णबहादुर राउत र काठमाडौं महानगरपालिका १ वसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने छन्।

तस्करीमा संलग्न एकजना भने फरार भएका छन्। फरार भएकालाई खोजी गर्दै घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गैँडाको खागलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै वर्ष चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा तस्करले मारेका थिए । 

प्रतिक्रिया दिनुहोस