मास्क नलगाई हिड्नेलाई जरिवाना

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १२ : ३०
मास्क नलगाई हिड्नेलाई जरिवाना

दाङ । दाङ प्रहरीले मास्क नलगाएर लापरवाही गरी कोरोनाको जोखिम बढाएको आरोपमा कारवाही गर्दै आएको छ ।

प्रहरीले एक महिनामा १०३० जनालाई पक्राउ गरी जरिवाना तिराएर कारबाही गरेको हो । लापरवाहीका कारण संक्रमण बढ्ने सम्भावना हुने जोखिम बढ्ने भन्दै प्रहरीले मास्क नलगाई हिँड्ने उपर कारवाही थालेको हो ।

कात्तिक १९ गतेदेखि मंसिर १९ गतेसम्म एक हजार तीसजना कारबाहीमा परेका हुन् । विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई संक्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत १ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए । कारबाहीमार्फत एक लाख ३० हजार जरिवाना संकलन भएको छ । 

विभिन्न क्षेत्रमा मास्क नलगाएर आवतजावत गर्ने तथा भिडभाड गरेर सामाजिक दुरीको अवज्ञा गर्नेहरुलाई प्रहरी प्रशासनले कडाई गर्ने अभियान थालेपछि माक्स नलगाउने कारवाहीमा परेका हुन् । जिल्ला प्रशासन कार्यालय दाङले मास्‍क नलगाई हिँड्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएलगत्तै जिप्रका दाङ प्रहरीले व्यापक मात्रामा प्रहरी परिचालन गरेको थियो ।

जिप्रका दाङले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको लागि जिल्ला प्रशासन कार्यालय दाङद्धारा जारी गरिएका सूचनाहरु पालना गरी संक्रमण फैलन नदिन सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस