नवीन सोचका साथ उद्यम गर्नेलाई ५० लाख सम्म ऋण

पत्रपत्रिकाबाट

विहीबार, १८ मंसिर २०७७, ०७ : ५४
नवीन सोचका साथ उद्यम गर्नेलाई ५० लाख सम्म ऋण

काठमाडौँ । नवीन सोचसहितको उद्यम गर्ने र आविष्कारकर्ताले २ प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन् । सरकारले नवप्रवर्द्धक सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्दै नवप्रवर्द्धक व्यवसायका लागि सहुलियतपूर्ण ऋण दिने व्यवस्था गरेको हो ।

नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारक, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले कार्यविधि जारी गरेको हो । उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा आवश्यक लगानीयोग्य पुँजी जुटाउन लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकलाई कर्जा प्रदान गर्ने व्यवस्था कार्यविधिमा छ ।

कर्जा प्रवाहका लागि मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेका सदस्य संयोजक रहेको निर्देशक समिति गठन गर्ने व्यवस्था कार्यविधिमा छ । यसअघि यस्तै खालको व्यवसायलाई अनुदान दिन कार्यविधि तयार पारे पनि त्यसलाई खारेज गरेर मन्त्रिपरिषद्ले नयाँ कार्यविधि स्वीकृत गरेको हो । गत वर्ष माघ २० मा मन्त्रिपरिषद्ले यस्तै प्रयोजनका लागि कार्यविधि स्वीकृत गरेको थियो ।

सोही कार्यविधिअनुसार राष्ट्रिय योजना आयोगले नवप्रवर्द्धकलाई अनुदान दिन सूचना जारी गरेको भए पनि विवादित बनेपछि प्रक्रिया रोकिएको थियो । कार्यविधिअनुसार गठन हुने समितिले प्रस्तावको छनोट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनोट गरिने प्रस्तावको संख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविष्कारक, उद्यमी वा व्यवसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने कार्य गर्नेछ ।

कार्यविधिअनुसार कर्जा प्राप्त गर्न चाहने आविष्कारक, उद्यमी वा व्यावसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नुपर्नेछ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस