सक्रिय सङ्क्रमित घटे

रासस

बुधबार, १७ मंसिर २०७७, २० : ५३
सक्रिय सङ्क्रमित घटे

काठमाडौँ । देशभरमा आज मङ्गलबारभन्दा ७७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ । 

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ९२५ र महिला ५६५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज सङ्क्रमणमुक्त भएका एक हजार ५६७ समेत गरी आजसम्म दुई लाख १८ हजार १६१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९२ दशमलव तीन  प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार २४६ पुगेको छ । 

काठमाडौँ उपत्यकामा आज ७२३ सङ्क्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा ५३१, ललितपुर ६१ र भक्तपुर ५८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये ३९८ पुरुष र ३२५ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा छ हजार ६५०, ललितपुरमा एक हजार ४०४ र भक्तपुरका ५७५ सक्रिय सङ्क्रमित रहेका छन् ।  

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३०० नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ५४ हजार ६३० नमूना परीक्षण भइसकेको छ । प्रति दश लाख जनसङ्ख्यामा ६० हजार १२९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । 

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ७४१ होम आइसोलेसन र पाँच हजार ८०६ संस्थागत आइसोलेसनमा रहेका छन् ।  प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ६२९, प्रदेश २ मा २९८, वाग्मती प्रदेशमा छ हजार ७८८, गण्डकी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५ रहेको छ । 

देशभरमा गरी आज ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

आइतबारदेखि बुधबारसम्ममा गरी ३४ हजार ८०२ नमूना परीक्षण भएको छ । यो अवधिमा पाँच हजार ५२३ सङ्क्रमित भए भने छ हजार ९७५ सङ्क्रमणमुक्त भएका थिए । यो अवधिमा नै ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा गौतमले बढी भीड हुने किसिमका सेवा तथा कार्य अझै १५ दिनका लागि रोकिने बताउनुभयो । उहाँका अनुसार, सिनेमा घर, रात्री व्यवसाय, अरू भीडभाड हुने स्थान, सभा, सम्मेलन, जुलुस लगायतलाई रोकिँदै आएकामा निरन्तरता दिन लागिएको हो । विश्वका कतिपय देशहरुले कोरोना विरुद्धको खोप विकास गरिरहेको भए पनि अझैसम्म व्यावसायिक रुपमा उत्पादन हुन बाँकी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि हामीले स्वास्थ्य मापदण्डको पालना गर्नु नै सङ्क्रमणबाट बच्ने उपाय हो ।”

प्रतिक्रिया दिनुहोस