४ महिनामा आयो ४१ करोडको सेनिटाइजर

पत्रपत्रिकाबाट

बुधबार, १७ मंसिर २०७७, ०८ : १२
४ महिनामा आयो ४१ करोडको सेनिटाइजर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल भित्रिएको छ । साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर सेनिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ ।

सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ । यसबाट ७ करोड ७७ लाख ५८ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

साउनमा ५ करोड ६६ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ७ सय ७२ लिटर, भदौमा ३ करोड ५५ लाख २ हजार रुपैयाँ बराबरको १ लाख १ हजार १ सय २० लिटर, असोजमा ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको ६३ हजार ९५ लिटर र कात्तिकमा ३ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको ९१ हजार ५ सय ८६ लिटर अन्य डिसइन्फेक्टेड आयात भएको तथ्यांकमा उल्लेख छ ।

अन्य डिसइन्फेक्टेडबाट २ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार महसुल संकलन भएको छ । सेनिटाइजर अन्य डिसइन्फेक्टेड चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट आयात गरिएको हो ।

नेपालमा रहेका उद्योगले पूर्ण क्षमतामा उत्पादन गरेर बजारमा नल्याएका कारण बाहिरबाट आयात भइरहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री बताउँछन् । औषधि उद्योग मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नहुने भएकाले सेनिटाइजर उत्पादन गरी बिक्री गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘संघका औषधि उद्योगी साथीहरूमा सेनिटाइजर उत्पादन गर्ने चासो छैन,’ उनले भने, ‘अत्यावश्यक वस्तु उत्पादन गर्ने औषधि उद्योग भएकाले सरकारले तिनलाई भ्याटमा दर्ता गरेको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस