नेकपा सचिवालय बैठकमा कसले के भने ?

आइतबार, १४ मंसिर २०७७, ०८ : ०२
नेकपा सचिवालय बैठकमा कसले के भने ?

काठमाडौँ । राजनीतिक प्रस्तावमा आरोप–प्रत्यारोपमा उत्रेका नेकपाका दुई अध्यक्ष पार्टी सचिवालय बैठकमा पनि घोचपेचमा उत्रेका छन् । शनिबारको सचिवालय बैठकमा बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बैठक सुरुवात गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रस्ताव राख्न प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । लिखित प्रस्तावसहित आफ्नो धारणा राखेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले क्षमायाचनासहित दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने माग राखेका छन् । ‘पार्टी गम्भीर मोडमा छ भन्ने कुरा छर्लङ्ग छ । अध्यक्ष कमरेडले पेस गर्नुभएको संघीन आरोपसहितको प्रस्ताव झुटको पुलिन्दा हो । लान्छना र झुटको पुलिन्दा हो । यसलाई बैठकमा औपचारिक रुपमा प्रवेश गर्ने र छलफल गर्न दिन सकिन्नँ,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै सचिवालयका एक नेताले भने, ‘यो अभियोग, लाञ्चना पत्र फिर्ता लिनु पर्दछ । गलत अभियोग लगाएकोमा कमरेड प्रचण्डले क्षमायाचना गर्नुपर्छ । त्यसपछि मात्रै पार्टी एकतामा जान सकिन्छ ।’

ती नेताका अनुसार ओलीले बहुमत–अल्पमतमा जाने भए पार्टी एकता अगाडि फर्कनुपर्ने बताएका छन् । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ । विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्‍याउँ । बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ ।’ २०७५ जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएको थियो । ओलीले आफ्नो सम्बोधनमार्फत बहुमत–अल्पमतमा गए एकता तोडिने संकेत गरेका छन् ।

वैठकमा अध्यक्ष दाहालले चार पटकसम्म ओलीले पार्टी फुटाउने कोसिस गरेको बताएका थिए । ‘पहिलो–केन्द्रीय कमिटीको सफल बैठकपछि आफ्ना गुटका साथीहरुको भेला गरेर प्रचण्ड र माओवादीलाई एकल्याउन पर्छ र आफ्नो गुटको गतिविधिलाई व्यवस्थित रुपमा अगाडि बढाउनु पर्छ भनेर निर्णय गर्नुभयो । दोस्रो– अध्यादेश ल्याउँदा नै फुटाउने कदम चाल्नु भएको हो । तेस्रो– एमाले दर्ता गर्नुभयो निर्वाचन आयोगमा । चौंथो– स्थायी कमिटीको बैठकपछि पनि मदन भण्डारी फाउन्डेसनको गतिविधिलाई वडासम्म लैजान निर्देशन दिनुभयो र फुटको निम्ति संगठनात्मक आधार तयार पार्ने काम गर्नुभयो,’ दाहालको भनाई उद्धृत गर्दै ती नेताले भने ‘जबकि स्थायी कमिटीले कुनै पनि प्रतिष्ठानका गतिविधि बन्द गर्ने भनेको थियो । चारपटक तपाईले पार्टी फुटाउन खोज्नु भएको छ । तर, हामीले धैर्यपूर्वक पार्टी एकताको रक्षा गर्दै आएका छौं । अहिले पनि रक्षा गर्न दृढ छौं ।’

राजनीतिक प्रस्ताव र पत्र समेटेर बुकलेट किन प्रकाशित भयो भन्ने ओलीको पश्नमा दाहालले भनेका थिए, ‘छलफल बहसका लागि पार्टी बैठकको लागि सहमति जनाउनुस् भनेर पत्र लेखेकै भरमा आरोपसहितको प्रतिउत्तर लेखेपछि मैले पनि प्रत्युत्तर र प्रस्ताव लेख्ने ठाउँमा पुगेको हुँ । दोस्रो, अघिल्लो सचिवालय बैठकमा तपाईले बोलेको कुरा रेकर्ड गरेर बाहिर दिनुभएछ । तपाईले दिएको प्रतिउत्तर पनि बैठकभन्दा पहिला मिडियामा आयो । त्यो दिन तपाईले बोलेको कुरा टेप रेकर्ड उतारेर हुबहु मिडियामा गयो भनेपछि के बाँकी रह्यो रु त्यसो भएपछि बरु सबै दस्तावेजलाई अध्ययनको सजिलोको लागि एकै ठाउँ राखेको हो । आज तपाईले बोलेको कुरा पनि मलाई शंका छ कि तपाई मिडियाको लागि नै बोल्नु भएको होला ।’

ओलीको प्रस्ताव र अभिव्यक्तिलाई लिएर दाहालले बैठकमा अहंकार र दम्भ देखाएको आरोप लगाए थिए । ‘तपाईलाई कहिल्लै पनि आफ्नो गल्तीतिर फर्किन मन लाग्दैन । तपाईंको आजको प्रतिउत्तरमा पनि अहंकार र दम्भ छ । तपाईंमा आत्मसमीक्षा गर्ने भन्ने प्रवृत्ति नै रहेनछ । तैपनि तपाईले प्रतिउत्तर पेस गर्नुभयो । त्यसलाई सकारात्मक रुपमा लिएको छु । छलफल गरौं र पार्टी एकतालाई नै योगदान पुर्‍याउने गरी निष्कर्ष निकालौं ।’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्णय मान्नुपर्ने बताएका थिए । ‘अहिले पार्टीमा तिक्त्तता, अन्तरविरोधहरु देखा परेका छन् । तर यसबाट आतंकित हुनुपर्ने, भाग्नु पर्ने, पार्टी फुटको संघारमा पुगियो भनेर निष्कर्ष निकाल्नु पर्ने छैन । कहिलेकाही पार्टीमा यस्तो हुन्छ । अब दुवै दस्तावेजहरुलाई छलफलमा लैजाऔं । एउटा निष्कर्ष निकालौं । पार्टीको बैठकले जे निष्कर्ष निकाल्छ, त्यसलाई सबैले मान्नु पर्छ,’ नेता खनालको भनाई उद्धृत गर्दै अर्का एक नेताले भने ।

दुई अध्यक्षको सहमतिबाट नै सबै हल खोज्ने भन्ने चिन्तन नै गलत भएको र पार्टी कमिटीबाट नै हल खोज्नुपर्ने नेता खनालको भनाई थियो । ‘पार्टीलाई विधिबाट चलाउनुपर्छ । दुई अध्यक्षको सहमतिबाट नै सबै कुरा गर्ने भन्ने चिन्तन नै गलत हो,’ उनले भनेका थिए, ‘केन्द्रीय कमिटी सर्वोच्च संस्था हो । सचिवालय, स्थायी कमिटीमा छलफल गरेर केन्द्रीय कमिटीमा जानुपर्‍यो भने त्यहाँबाट निर्णय गर्नुपर्छ र सबैले मान्नु पर्छ ।’ वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अन्तरविरोध हुने भन्दै नेकपा मालेमा हुँदा बैठकमा माइन्युट च्याताच्यात भएको प्रसंग निकालेका थिए । ‘पार्टीमा यस्ता विवाद भईराखेकै हुन्छन् नि । नेकपा मालेमा माइन्युट च्याताच्यात भएको होइन रु राजीनामा फालाफाल भएको होइन रु बहुमत अल्पमत हुँदैनथ्यो रु’ नेता नेपालको भनाई थियो, ‘यस्तो अन्तविरोध हुन्छ, यसलाई हल गरिन्छ । यसको आधारमा कसैले पार्टी फुटाउन खोज्छ भन्ने त्यो ठिक होइन ।’

नेता नेपालले अध्यक्ष ओलीको पुरानै सोच र दृष्टिकोणमा नै गम्भीर त्रुटी रहेको बताएका थिए । ओलीले फराकिलो ढंगले सोच्नै नसक्ने उनले बताएका थिए । यस्तै उनले बालुवाटारबाट नै गुटबन्दी भएको बताएका थिए । ‘बालुवाटार बसेर गरेको गुटबन्दीचाहिँ गुटबन्दी नहुने हामी भेट्दा गुटबन्दी हुने रु गुटबन्दीको परिभाषा चाहियो । हामीले गुटबन्दी गरेका छैनौं । बालुवाटारबाट भएको छ,’ नेपालको भनाई थियो । नेपालले नेपालले दुई अध्यक्षको अन्तर्विरोध वा दुई अध्यक्ष मिलेर सबै मिल्ने भन्ने सोचाई गलत भएको पनि बताएका थिए । ‘अन्तर्विरोध दुई अध्यक्षको वा दुई अध्यक्ष मिल्दा सबै मिल्ने भन्ने होईन । हामी कसैका एसम्यान हैनौं । छाप लगाउने मान्छे होइनौं,’ उनले भनेका थिए ।

उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्षको सहमतिमा बैठक बोलाउने भन्ने कुरा नै गलत भएको बताएका थिए । ‘दुवै अध्यक्षका कुरा आए, त्यो राम्रो भयो । तर बैठक बोलाउन सहमति भन्ने कुरा गलत छ । जसले माग गरे पनि सचिवालय बैठक बोलाउनु पर्छ । दुई अध्यक्षमध्ये एकले बैठक बसौं भने पनि बैठक बोलाउनु पर्छ,’ बैठकमा गौतमले भनेका थिए, ‘बैठक बोलाउन पनि अन्तर्वस्तुमा सहमति खोज्ने बेठिक विधि छ । सच्चाउनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस