विपी प्रतिष्ठान धरानमा स्वास्थ्यमन्त्री ढकालकै बोलवाला, ज्वाइँ भतिजालाई सल्लाहकारमा नियुक्ति

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १६ : २६
विपी प्रतिष्ठान धरानमा स्वास्थ्यमन्त्री ढकालकै बोलवाला, ज्वाइँ भतिजालाई सल्लाहकारमा नियुक्ति

विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नै आफ्नो बोलवाला चलाएका छन् । मन्त्री ढकालको बोलवाला रहेको पुष्टि उनका नातेदारबाट भएको नियुक्तिलाई लिन सकिन्छ । 

स्वास्थ्यमन्त्री ढकालले आफ्ना ज्वाइँ र भतिजालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सल्लाहकार बनाएका छन् । स्वास्थ्यमन्त्री ढकालकै ठाडो आदेशबाट आफ्ना ज्वाइँ र भतिजालाई सल्लाहकार बनाइएको स्रोतको भनाइ छ । स्रोतका अनुसार उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ज्वाई भतिजालाई नियुक्ति गर्न ठाडो आदेश दिएका थिए । 

डा ज्ञानेन्द्र गिरीले मन्त्री ढकालका ज्वाइँ र भतिजालाई नियुक्ति गरेका छन् । यही मौका छोप्दै उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफ्नो नातामा पर्ने एक जनालाई स्वकीय सचिव पनि थपेका छन्। विपी प्रतिष्ठान धरान पछिल्लो समय आफ्नो मान्छेको भर्तीकेन्द्र बनाइएको छ । 

स्वास्थ्य मन्त्री ढकालका सहोदर बहिनीज्वाइँ विराटनगरका सुमन पन्तलाई कानुनी सल्लाहकार नियुक्त गर्न निर्देशन दिएका हुन् भने मन्त्री ढकालका भतिजा अमृत ढकाललाई मन्त्री ढकालकै निर्देशनमा  जनसम्पर्क अधिकृत नियुक्त गरिएको छ । पन्त र ढकालको नियुक्ति कात्तिक ११ गते भएका हुन् उपकुलपतिका नातेदार गणेश गिरीले मंसिर १ गतेदेखि स्वकीय सचिवको रूपमा नियुक्ति पाएका छन्।

उनीहरूलाई अधिकृतभन्दा माथि फ्याकल्टी डाक्टरसरहको सेवासुविधा दिएर नियुक्ति दिइएको छ । अचम्म त यो छ कि मन्त्री ढकालले प्रतिष्ठानलाई भाइभारदारको भर्तीकेन्द्र बनाइरहँदा प्रतिष्ठानमा हाल १० जना सल्लाहकार पुुगिसकेका छन् । सल्लाहकारको मात्रै सेवासुविधा जोडदा वार्षिक एक करोड रुपैयाँले पनि नपुग्ने देखिन्छ । 

प्रतिष्ठानमा अब कानुनी सल्लाहकार मात्र तीन जना पुगेका छन्। त्यसपछि गिरीले विराटनगरका अर्का कानुन व्यवसायी शान्तिराम भण्डारीलाई कानुनी सल्लाहकार नियुक्ति गरेका थिए। भण्डारीलाई विराटनगर क्षेत्रका अदालत र खतिवडालाई सर्वोच्च अदालतमा पर्ने मुद्दा(मामिला हेर्ने जिम्मेवारी दिइएको छ।

नयाँ नियुक्ति पाएका ज्वाइँ पन्तलाई भने कार्यालयकै कामकाजका विषयको कानुनी पक्ष हेर्ने जिम्मेवारी दिइएको छ। उपकुलपति गिरीका अन्य सल्लाहकारमा गोविन्द श्रेष्ठ पनि छन्। उनलाई प्राविधिक सल्लाहकारको रूपमा नियुक्ति गरिएको छ।प्रेस संयोजकको रूपमा शिशिर राईलाई नियुक्ति गरिएको छ। आर्थिक सल्लाहकारमा अमित कडरिया, स्वकीय सचिवकै रूपमा मनोज घिमिरे पनि छन्।

प्रतिक्रिया दिनुहोस