चितवनमा किन रोकियो ‘अयोध्या’ निर्माण ?

बुधबार, १० मंसिर २०७७, १० : ११
चितवनमा किन रोकियो ‘अयोध्या’ निर्माण ?

काठमाडौं । चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयलको भ्रमणसँगै एकाएक रोकिएको छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले आगामी पुस ४ गते शनिबार विवाह पञ्चमीका दिन नयाँ नगरपालिकाको रूपमा ‘अयोध्या नगरपालिका’ सँगै विशाल राम मन्दिर तथा उद्यान निर्माणको घोषणा गर्ने कार्यक्रम थियो । यसको डिजाइन र नक्सा अन्तिम चरणमा पुगेपछि झण्डै १२ अर्ब रूपैयाँ बजेट छुट्याउने कामसमेत अघि बढेको बताइन्छ । तर ‘र’ का प्रमुख सामन्तसँगको भेटपछि ती सबै कागजात र प्रक्रियालाई अहिले एकाएक सरकारी दराजमा थन्काइएको छ ।

श्रोतका अनुसार नक्सा र डिजाइनको शीर्षकमा ‘प्रोजेक्टः श्री राम मन्दिर’ उल्लेख छ । उक्त नक्सा र डिजाइन काठमाडौं, हात्तिसारस्थित डेकोर स्टुडियोले तयार पारेको हो । यसअघि प्रधानमन्त्री ओलीले संसदमा चितवनको ठोरीस्थित अयोध्यापुरी नै रामको वास्तविक जन्मस्थान भएको बताएपछि सर्वत्र तरंग फैलिएको थियो ।

उत्तर प्रदेशस्थित अयोध्यालाई भारतले राम जन्मभूमि मान्दै आएको सन्दर्भमा प्रधानमन्त्रीको भनाइ धार्मिक वृत्तमा विवादास्पद समेत बनेको थियो । उक्त अभिव्यक्तिलाई भारतले औपचारिक रूपमा सामान्य भनेपनि अनौपचारिक ढंगले गम्भीर आपत्तिको रूपमा लिएको थियो । उक्त घटनाक्रमको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले घोषणा गर्न लागेको अयोध्या नगरपालिका र निर्माण गर्न खोजेको राम मन्दिरलाई भारतको संस्थापन पक्षले आफूहरूसँग निहुँ खोजेको अर्थमा लिएको थियो ।

भारतसँग सम्बन्ध सुध्रिन थालेपछि प्रधानमन्त्री ओलीले नयाँ नगरपालिका घोषणा र महत्वाकांक्षी राम मन्दिर निर्माणको योजनाबाट एक्कासी पछि हटेको श्रोतको भनाई छ । यसैबीच भूतपूर्व सेनापति राजेन्द्र क्षेत्रीले समेत ठोरी क्षेत्रको भ्रमण गरेका छन् । यो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी क्षेत्र हो । (जनआस्था साप्ताहिकबाट)
 

प्रतिक्रिया दिनुहोस