चितवनमा ५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

रासस

बुधबार, १० मंसिर २०७७, ०९ : २८
चितवनमा ५० बिघामा लगाइएको अवैध गाँजाखेती नष्ट

फाइल तस्विर

मुग्लिन । चितनवनमा ५० बिघामा लगाएको अवैध गाँजाखेती नष्ट गरिएको छ । चितवन प्रहरीले राप्ती नगरपालिका–११ को डिटार, गाल्चन भन्ज्याङ, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं १२ को कोधानवाङ गैरी, एउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं १३ को कालीटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोलालगायतका स्थानमा लगाएको अवैध गाँजा नष्ट गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । उनका अनुसार ५० बिघामा लगाइएको करिब ३६ लाख गाँजाको बोट नष्ट गरिएको छ । ती वडाका बस्तीमा स्थानीयवासीसँग जनचेतनामूलक अन्तक्र्रियासमेत सम्पन्न गरिएको प्रवक्ता थापाले बताए ।

यसैबिच इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान गरिएको छ ।  स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गर्नुभएको हो ।

उनले मङ्गलबार एक कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराएको घोषणा गरेका हुन् । उक्त दान गरिएको जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकीबीच मङ्गलबार नै एक सम्झौतासमेत भएको वडाध्यक्ष चेपाङले जानकारी बताए ।

वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै शुरु गरिने उनले बताए  यस्तै जग्गा उपलब्ध गराउने दाता बुढाथोकीलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडाध्यक्ष चेपाङलगायत स्थानीयवासीले सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस