कुनै नेतालाई ‘कि तँ रहन्छस्, कि म रहन्छु’ भन्ने अधिकार छैन : नेता पन्त

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १५ : ५२
कुनै नेतालाई ‘कि तँ रहन्छस्, कि म रहन्छु’ भन्ने अधिकार छैन : नेता पन्त

काठमाडौँ ।  वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने स्थायी कमिटी सदस्य रघुजी पन्तले नेकपाका कुनै पनि नेतालाई ‘कि तँ रहन्छस्, कि म रहन्छु’ भन्ने अधिकार नभएको बताएका छन् ।

नेता पन्तले एक राष्ट्रिय पत्रिकामा अन्तर्वार्ता दिँदै पार्टीको कमिटीलाई चित्त नबुझेपछि जुनसुकै नेता पनि हट्नुपर्ने बताए । उनले भने, ‘भोलि केन्द्रीय कमिटीलाई चित्त नबुझे केपी कमरेड पनि हट्न सक्नुहुन्छ, प्रचण्ड कमरेड पनि हट्न सक्नुहुन्छ । केन्द्रीय कमिटीले तपाईं दुवै जनाबाट चलेन, दुवैजना हट्नुस् पनि भन्न सक्छ ।’ नेता पन्तले  दुई जनामध्ये कसैलाई एक जनाबाट भएन, तपाईंले भ्याउनु भएन, पार्टीलाई मिलाएर लैजान सक्नुभएन, तपाईंले त्याग गर्नुपर्‍यो भनेर अनुरोध गरेर हटाउन पनि सकिने बताए । 

नेता पन्तले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रस्ताव पेस गरेपछि त्यसको जवाफ दिनको लागि अर्का अध्यक्ष केपी शर्मा ओली त्यसको गृहकार्यमा लागिरहेका छन् । मंसिर १३ गते सचिवालय बैठक बस्दैछ । नेता पन्तले ओली र प्रचण्डको दुवै प्रस्तावलाई बैठकले अस्वीकार गर्न सक्ने पनि बताए ।

उनले भने, ‘दुवैका प्रस्तावलाई मिलाएर अर्को प्रस्ताव तयार गर्न सक्छ । अथवा नयाँ प्रस्ताव तयार गर्न सक्छ । यो बैठकको अधिकार क्षेत्रभित्र पर्ने कुरा हो । तर आउन चाहिँ दिऔँ । आउने भयो भनेर आत्तिन पनि पर्दैन । त्यसैबाट पार्टी फुट्छ भन्ने हैन । पार्टी फुटाउन नेताहरुले अठोट गरेका छन् भने फुट्छ । अहिले त न फुटको स्थिति छ न जुटको । यो अवस्थाबाट पार्टीलाई मुक्त गर्नुपर्‍यो ।’ 

नेता पन्तले पार्टी सर्वोच्च भएको तर कुनै नेता सर्वोच्च नभएको बताए । उनले भने, ‘केपी कमरेडको प्रस्तावको पक्षमा स्थायी कमिटी, केन्द्रीय कमिटीले फैसला गरेछ भने त्यो प्रचण्ड, माधवजीले मान्नुपर्‍यो । होइन माधवजी, वामदेवजीलगायतका उहाँहरुले कुनै सामूहिक प्रस्ताव तयार गर्नुभएछ वा त्यो नै सामूहिक प्रस्ताव हो र त्यसको पक्षमा पार्टीले निर्णय गर्छ भने त्यो मान्नुपर्‍यो ।’

नेता पन्तले जे–जे हुन्छ बैठकमा हुन्छ, लड्नु छ भने पनि त्यहीँ लड्छन्, घनिभूत र मन माझामाझ गर्ने ढंगले बैठकमा छलफल गर्नुपर्ने बताए । उनले भने, ‘स्थायी कमिटीमा एकमत भएर केन्द्रीय कमिटीमा पुग्नुपर्छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । र, स्थायी कमिटीको निर्णय कसैले मान्दिनँ भन्न पाउँदैन । मेरो इच्छाविरुद्ध गरेको निर्णय कार्यान्वयन हुन सक्दैन, म पार्टी फुटाउँछु, आफ्नो बाटो लाग्छु भन्न पाइन्न । यो भनेको लाखौं कार्यकर्ता र जनताको विश्वासमाथि कुठाराघात गर्नु हो ।

नेता पन्तले केन्द्रीय कमिटीले अहिलेका प्रधानमन्त्रीलाई अहिले सरकार प्रमुखबाट हट्नुस् भन्न सक्ने बताए । उनले भने, ‘यो स्थायी कमिटीले पनि सक्छ । त्यसमा प्रधानमन्त्रीले त्यो निर्णय मानेर राजीनामा दिन पनि सक्नुहुन्छ । अथवा म दलमा मेरो शक्ति परीक्षण गर्छु भन्न पनि सक्नुहुन्छ ।’

उनले अहिलेको हकमा प्रधानमन्त्रीपक्षमा पार्टीमा पनि बहुमत नदेखिएको बताए । उनले भने, ‘दलमा पनि बहुमत देखिराखेको छैन । तर, मेरो चाहना बहुमतरअल्पमतमा निर्णय गर्नुपर्ने अवस्था आइनलागोस् भन्ने छ । सहमतिकै लागि हामीले प्रयत्न गर्नुपर्छ । अहिले परिणाममूखी निर्णय पनि गर्नुपर्यो र त्यो निर्णय पनि सकेसम्म सहमतिको आधारमा गर्नुपर्यो । हामी ध्यान पुर्‍याउने त्यसमा हो ।’

प्रतिक्रिया दिनुहोस