काठमाडौँ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीईटी) क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सरकारले ‘विद्यालय गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली’ को औपचारिक सुरुवात गरेको छ।
बुधबार काठमाडौँमा आयोजित ‘गुणस्तरीय टीभीईटी : अहिलेको आवश्यकता’ शीर्षकको राष्ट्रिय सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त प्रणाली उद्घाटन गर्दै यो प्रक्रिया प्रारम्भ भएको घोषणा गरेका छन् ।
यो सुरुवातलाई नेपालको टीभीईटी क्षेत्रमा गुणस्तर सुनिश्चितताका लागि एक महत्त्वपूर्ण कोशेढुंगा मानिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपालमा प्राविधिक शिक्षा स्तर तत्काल माथि उकास्नुपर्ने आवश्यकतामा जोड दिए । ‘यदि हामी पछिल्ला दुई दशकलाई तुलना गर्छौँ भने डिजिटल उपकरणहरूले जीविका र काम गर्ने तरिकामा ठुलो परिवर्तन ल्याएको महसुस गर्न सक्छौँ,’ उनले भने, ‘हाम्रो वर्तमान आवश्यकता के हो भनी बुझ्न जरुरी छ । यसबारे सचेत भएर अघि बढ्दा मात्र हामीले शिक्षा, विशेष गरी टीभीईटीमा गुणस्तर अभिवृद्धि गर्न सक्छौँ ।’
उनले युवालाई रोजगारीका लागि सक्षम बनाउन र देशमा समावेशी आर्थिक वृद्धि प्रवर्द्धन गर्न गुणस्तरीय टीभीईटीको महत्त्वलाई विशेष रूपमा प्रकाश पारेका छन् । कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्यसचिव महेश भट्टराईले नेपालको टीभीईटी प्रणाली सुदृढ गर्न प्रमाणीकरण एक अनिवार्य कदम भएको बताए ।
गुणस्तर कागजमा मात्रै सीमित नभई परिणाममा देखिनुपर्नेमा जोड दिँदै उनले उद्योगलाई टीभीईटीसँग जोड्नुको विकल्प नभएको उल्लेख गरे ।सम्मेलनका प्रमुख वक्ता स्विट्जरल्यान्डको ईटीएच ज्युरीचकी प्रा.डा. उर्सुला रेनोल्डले आफ्नो प्रस्तुति मार्फत अन्तर्राष्ट्रिय मापदण्ड, उद्योगसँगको सम्बन्ध, विद्यार्थी-केन्द्रित शिक्षा र विश्वका उत्कृष्ट अभ्यासबारे जानकारी गराइन्।
उनले यी उत्कृष्ट अभ्यासलाई आधार मान्दै नेपालका लागि कार्यान्वयनयोग्य रणनीति बनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्विस विकास सहयोग (एसडीसी) र युनेस्कोका अन्य वक्ताहरूले पनि नेपालमा टीभीईटी रूपान्तरणका लागि आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलनमा विभिन्न महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन : शिक्षामन्त्री
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं : रघुजी पन्त
राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ: रघुजी पन्त
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त