गैरआर्थिक क्रियाकलापले समस्यामा पर्दै बैंकहरु, मौन छ नेपाल राष्ट्र बैंक

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १३ : ०३
गैरआर्थिक क्रियाकलापले समस्यामा पर्दै बैंकहरु, मौन छ नेपाल राष्ट्र बैंक

काठमाडौँ । गैरआवासीय नेपाली नागरिकको समेत लगानी रहेको सानिमा बैंक, पाकिस्तानीको समेत लगानी रहेको हिमालयन बैंक, यस्तै काठमाडौंका नेवारहरुको लगानी रहेको प्राइम बैंक सबैभन्दा बढी समस्यामा परेको छ । कोरोनाको बहानामा गैरआर्थिक क्रियाकलाप तथा गतिविधिका कारण ती बैंक मारमा परेका हुन् । यस्तै, नेपाल बंगलादेश बैंक, सिभिल बैंकमा समेत समस्या देखिएको छ । ती बैंक कुनै पनि समयमा टाट पल्टेको घोषणा हुनसक्ने देखिएको छ । 

तथ्यहरुका आधारमा ती बैंकमा रहेको ठूलो निक्षेपकर्ताले हात झिकिसकेका छन् । एकाध मात्रै बाँकी रहेको छ । गैरकानूनी कारोवार गर्ने क्रममा अग्रणी रहेको नबिल बैंकको अवस्था पनि उस्तै रहेको छ । पछिल्ला दिनमा बैंकका कर्मचारीलाई नै परिचालन गरेर शेयर बजारमा केही अंकको वृद्धि देखाइएको भएपनि अन्तर्यमा ती बैंकको अवस्था असाध्यै दयनीय रहेको र जुनसुकै बेला जे पनि हुन सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् । 

जानकारहरुका अनुसार नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले दिएको ऋण नै कालोसूचीमा पर्ने अवस्था आएको छ । मारवाडी समुदायलाई गलत विवरणलाई समेत सही ठानेर दिइएको ऋणका कारण बैंक नराम्ररी समस्यामा परेको छ । तथ्य र प्रमाणका आधारमा सो बैंकलाई कारवाही गर्नुपर्ने निष्कर्षमा नेपाल राष्ट्र बैंकको निमयन विभाग पुगेको भएपनि पछिल्लो दिनमा दाहालको उठबस  अर्थमन्त्री समेत रहेका नेकपा महासचिव विष्णु पौडेलसँग बाक्लिएपछि गभर्नर कुनै पनि कारवाही नगर्ने र चुपचाप बस्ने योजानमा लागेका छन् । 

नियमन विभागले कारवाहीका लागि गभर्नरसमक्ष फाइल पेश गरेपनि कुनै सुनुवाई नगरिनुको कारण पनि अर्थमन्त्री नै रहेको बताइन्छ । यसअघि पनि डा. युवराज खतिवडाको नाम लिएर सो बैंकले उन्मुक्ति पाउँदै आएको थियो । किनकी युवराजकै कारण चरम समस्यामा परेको सनराइज बैंकलाई पनि कारवाही गर्नबाट रोकिएको थियो । किनकी सनराइजमा युवराजको समेत लगानी रहेको र लगानीकर्तासँग उनको सम्बन्ध रहेको जानकारहरुको भनाइ छ । 

यस्तै ऋण प्रवाहमा गलत नजिर बसालेको नेपाल बंगलादेश बैंक पनि चरम समस्यामा फसेको छ । अनुसन्धानको क्रममा सो बैंकले समेत गलत विवरण पेश गरेका ग्राहकलाई अण दिने गरेको पाइएको छ । यस्तै पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण भटाभट सार्वजनिक गर्न थालेका छन् । यसअघि कोरोना, लकडाउन र निषेधाज्ञाको कारण आफ्नो कारोबारमा धक्का लागेको बताएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाले गत वर्षकोभन्दा बढी वा सोसरह नाफा गरेको दावी पनि सार्वजनिक गरेका छन् ।

 सो विवरणमा पनि उनीहरुले आफना ग्राहक तथा लगानीकर्ता नभडकिऊन भनेर विवरण राम्रो भएको नाटक गरेका छन् । केहीले भने पोहोरको तुलनामा निकै कम नाफा गरेको देखिएको समेत बताएका छन् । यसरी झण्डै ५० प्रतिशतले नाफा घटेका बैंकहरूको सूचीमा एभरेष्टपछि हिमालयन बैंक देखिन आएको हो । त्यसको पछाडि पनि सोही कारण नै रहेको बताइन्छ । 

बैंकको विवरणअनुसार हिमालयन बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ५९ लाख १४ हजार रूपैयाँ मात्रै खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा कमाएको नाफा ६९ करोड ४२ लाख रूपैयाँ थियो । गत आवको तुलनामा यो वर्ष ४७ दशमलब २९ प्रतिशतले घटेको नाफा रकम ३२ करोड ८३ लाख हुन आउँछ । उक्त अवधिमा बैंकको कर्जा प्रवाहमा पनि उल्लेख्य कमी आएको छ । त्यसको पछाडि बैंकले गलत विवरणका भरमा धमाधम ऋण प्रवाह गरेका कारण देखिएको छ ।

बैंकमा विगतमा लामो समय सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाबीच कहिल्यै राम्रो हुन सकेन । पछिल्ला दिनमा हिमालयन बैंक मर्जरको विषय पनि बेवारिस बन्दै गएको छ । कानुनविपरीत कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम अहिले पनि हिमालयन बैंकको अध्यक्ष रहेका छन् । ठूलो लगानीकर्ताको हैसियतमा उनी अध्यक्ष भएका हुन् । कानूनी छिद्रको बलममा उनी अध्यक्ष भएको बताइन्छ । सो बैंकमा पाकिस्तानको हबिब बैंक लिमिटेडको २० प्रतिशत शेयर लगानी रहेको छ । सो शेयर समेत बेलायतको एक संस्थालाई बिक्री गर्ने भनिएपनि कुरा मिल्न नसक्दा अलपत्र परेको छ ।