भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : १६
भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।

विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

अभिमुखीकरण जारी
बोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा हेर्ने कर्मचारीलाई कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमुखीकरण कार्यक्रम जारी राखेको छ । केही दिनमा सबै जिल्लाको अभिमुखीकरण सकिने र परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

कोरोना सङ्क्रमण कायमै रहेको अवस्थामा पनि निर्वाध रूपमा परीक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास केन्द्राध्यक्षहरूले राखेको जनाइएको छ । भौतिक रूपले टाढाको दूरीका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ । नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।

यसैबीच बोर्डले विद्यार्थीलाई भौतिक दूरी कायम गर्दै परीक्षा लिन सम्बद्ध विद्यालयलाई निर्देश गरेको छ । परीक्षाको दूरी कायम गर्न केही विद्यालयले समस्या भए नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गरेर भए पनि परीक्षा लिने गरी बाटो खुला गरिएको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिनुभयो । कक्षा १२ को परीक्षामा विभिन्न ७३ वटा विद्यालयमा पाँच सयभन्दा बढी परीक्षार्थी छन् । ती विद्यालयलाई परीक्षा सञ्चालन गर्न समस्या भएको अवस्थामा नजिकैको विद्यालयमा परीक्षा केन्द्र विस्तार गर्न सक्ने अधिकार दिइएको हो ।

धेरै विद्यार्थी अध्यापन गराउन सक्ने विद्यालयमा भौतिक संरचनासमेत ठूलो हुने र हाल अन्य कक्षाका विद्यार्थीको कक्षा नचलेकाले समस्या नहुने जनाइएको छ । बोर्डले परीक्षा सञ्चालनको अवधिमा कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीलाई परीक्षामा सहभागी नहुन र नआत्तिन अनुरोध गर्दै ती विद्यार्थीको छुट्टै परीक्षा लिइने जनाएको छ । सङ्क्रमित अवस्थाका विद्यार्थीलाई हाल परीक्षामा सहभागी नगराउने र निको भएपछि १५ दिनपछि परीक्षा लिइने जानकारी बोर्डका अध्यक्ष पौडेलले दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस