कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, ०८ : २४
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम भर्ने समय तालिका सार्वजनिक गरेको छ।

 बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित र आंशिक दुवै तर्फका परीक्षार्थीका लागि फाराम भर्ने म्याद तोकेको हो। सूचना अनुसार परीक्षार्थीले पुस मसान्तभित्र परीक्षा शुल्क बुझाउनुपर्नेछ। उक्त समयमा शुल्क बुझाउन छुटेकाले माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाउन सक्नेछन् भने विद्यालयले माघ २५ गतेभित्र फाराम र बैंक भौचर बोर्डको कार्यालयमा बुझाइसक्नुपर्नेछ।

कक्षा १२ को नियमित परीक्षार्थीका रूपमा फाराम भर्नका लागि विद्यार्थीले कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने अनिवार्य सर्त छ। आवेदन फारामका साथ कक्षा ११ को रजिस्ट्रेसन कार्ड र विद्यालयबाट प्रमाणित ग्रेडसिट संलग्न गर्नुपर्नेछ।

 परीक्षा शुल्कबापत प्रति विद्यार्थी ८०० रुपैयाँ र विलम्ब शुल्कको हकमा १ हजार ६०० रुपैयाँ तोकिएको छ। भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट जस्ता बाह्य परीक्षक खटिने प्रयोगात्मक विषयका लागि विद्यार्थीले थप १०० रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकममध्ये ६० रुपैयाँ बोर्डको खातामा जम्मा गर्नुपर्ने र ४० रुपैयाँ विद्यालयले आन्तरिक परीक्षकका लागि राख्ने व्यवस्था छ।

प्रयोगात्मक परीक्षाका लागि बाह्य परीक्षक खटिने विषयहरूको परीक्षा चैत ३० गतेभित्र सम्पन्न गरी वैशाख १५ गतेभित्र प्राप्ताङ्क बोर्डमा पठाइसक्नुपर्नेछ। आंशिक परीक्षार्थीले आफूले पहिले नियमित परीक्षा दिएकै विद्यालयबाट मात्र फाराम भर्न पाउनेछन्। कक्षा ११ मा अध्ययन गरेकै विषय र समूह अनुसार मात्र कक्षा १२ मा फाराम भर्नुपर्ने र विषय परिवर्तन गरेमा उक्त आवेदन रद्द हुने बोर्डले जनाएको छ। 

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार आन्तरिक मूल्याङ्कनमा न्यूनतम ग्रेड प्राप्त नगरेका विद्यार्थीको वार्षिक परीक्षा रद्द हुने भएकाले समयमै अङ्क प्रविष्टि गर्न विद्यालयलाई सचेत गराइएको छ।

विद्यार्थी स्वयंले भरेको फारामलाई विद्यालयले अनलाइनमार्फत प्रविष्टि गर्नुपर्नेछ। नियमित परीक्षार्थीका लागि पुस १५ देखि माघ २५ गतेसम्म अनलाइन इन्ट्री खुला रहनेछ। परीक्षा शुल्क कनेक्ट आइपीएस, ई-सेवा, खल्ती जस्ता डिजिटल माध्यम वा राष्ट्रिय वाणिज्य बैंकको भौचरमार्फत बुझाउन सकिनेछ।

परीक्षार्थीले एक पटक तय भएको परीक्षा केन्द्र परिवर्तन गर्न पाउने छैनन् र तोकिएको मापदण्ड नपुगेका आवेदनहरू स्वतः रद्द हुने मंगलबार जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस