नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको प्रस्ताव : सचिवालय विघटन गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिऔं

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, १५ : ३४
नेकपा सचिवालय बैठकमा विष्णु पौडेलको प्रस्ताव : सचिवालय विघटन गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिऔं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु प्रसाद पौडेल आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले पार्टीभित्रको बढ्दो विवादले संकटमाथि संकट निम्तिएको भन्दै समस्या समाधानमा सचिवालय असफल भएको बताएका थिए । ‘समस्या धेरै भयो तर समाधानमा सचिवालय असफल बन्यो’, बैठकमा सचिवालयको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पौडेलले भने, ‘सचिवालय विघटन गरौँ । नयाँ पुस्तालाई नेतृत्व दिनेगरी स्थायी समिति बैठकमा प्रस्ताव लैजाऔं ।’

उनले नेकपाभित्रको विवादले देशनै बर्दादीतिर जाने भन्दै सबै एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । 
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिएको एक नेताले जानकारी दिए । ‘आरोपपत्रको व्यवस्थित जवाफ दिन्छु । त्यसका लागि १० दिनको समय चाहिन्छ । त्यो समय माग गर्छु’, ओलीले बैठकमा भने । 
ओलीकै मागअनुसार बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले प्रचण्डको ‘काउन्टर’ मा नयाँ प्रस्ताव समेत ल्याउने भएका छन् । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले आगामी मंसिर १३ गते बस्ने बैठकमा आफ्नो छुट्टै प्रस्ताव पेश गर्ने तय भएको जानकारी दिए । सचिवालय बैठकमा यसअघि नै प्रचण्डले पेश गरेको र ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने उनको भनाइ छ । 

यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस