मध्यरातमा प्रधानमन्त्री ओलीको बढ्यो दौडधुप !

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०७७, ०८ : ३९
मध्यरातमा प्रधानमन्त्री ओलीको बढ्यो दौडधुप !

काठमाडौं । सत्तारुढ दल नेकपामा बढेको विवादले पार्टी विभाजनको डिलमा पुगेको छ । प्रधानमन्त्री ओलीको हठका कारण पार्टी एकता नै संकटमा परिरहेका बेला आजको सचिवालय बैठक हुने नहुने अन्यौलता छ ।  ओली बैठक देखि डराएर भाग्ने दाउको खोजीमा छन भने प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत नेताहरु बैठक राख्नु पर्ने पक्षमा छन् । यो बेला राष्ट्रपति देखि नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसम्मको सक्रियाता उत्तिकै बढेको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो संकट टार्नका लागि पार्टी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ देखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्मलाई प्रयोग गरिरहेका छन् । महासचिव विष्णु पौडेलले हिजै मात्र अध्यक्ष प्रचण्डलाई बिहान भेट गरी आजको बैठक स्थगित गरेर केही दिन पछि सार्न, प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन र दुई अध्यक्ष छलफलमा बसेर सहमति जुटाउन प्रस्ताव बोकेर पुगेका थिए ।

प्रचण्डले पौडेलको प्रस्तावलाई अहिले हुन्न भन्दै फर्काईदिएपछि दिउँसो उनैले ओली, इश्वर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, शेरधन राई लगायतका नेताहरुकै अगाडीबाट पून ओलीको आग्रहमा प्रचण्डलाई लाउड स्पिकर बनाएर टेलिफोन सम्वाद गरेका थिए । त्यहाँ पनि पौडेलले बैठक बोलाउने र स्थगित गर्ने दुई अध्यक्षको परामर्शमा महासचिवले हो है, अहिले बैठक केही दिन स्थगित गरौं भन्दै ओलीको योजनामा फोन गरेका थिए । त्यसमा पनि प्रचण्डले अहिले बैठक नरोकिने जानकारी दिए ।

ओली निकट नेता सुवास नेम्वाङले पनि प्रचण्डलाई बैठक रोक्न र सम्वादमा आउन आग्रह गर्दै सन्देश पठाएका थिए । आफुले भेटेर कुरा गर्न खोजेको सन्देश नेम्वाङले प्रचण्डलाई पठाएपनि प्रचण्डले उपयुक्त समयमा भेटौला भन्दै सन्देश फर्काएका थिए । त्यसपछि पनि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रचण्डलाई मनाउने प्रयास गरेका थिए । प्रचण्डले राष्टपतिसँग पनि ओलीकै कारण समस्या पार्टीमा सिर्जना भएकोले प्रधानमन्त्रीलाई नै सम्झाउन आग्रह गर्दै बाहिरिएका थिए ।

केही गरी पनि प्रचण्ड नेपाल समुह अगाडी बढ्नबाट नरोकिने संकेत मिलेपछि ओलीको मध्यरातसम्म पनि दौडधुप उत्तिकै बाक्लो थियो । बालुवाटार स्रोतका अनुसार उनले साँझ ९ बजेपछि आफ्नो निवासमा आफु निकट मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । मन्त्रीहरुलाई बालुवाटार निम्तो गर्दा उनीसँग चिनियाँ राजदुत यान्छीले भेटवार्ता गरिरहेकी थिइन् । राजदुतले ओलीलाई आवश्यक त्याग गर्न र पार्टीभित्रको विवादमा लचकता अपनाएर एकता जोगाईराख्न अनुरोध गरेको बुझिएको छ ।

पछिल्लो दिनमा ओलीको कार्यशैली र ब्यवहारका कारण चिन पनि त्यक्ति सन्तुष्ट देखिएको छैन् । चीनको धारणा नेकपा विभाजन नहोस तर प्रधानमन्त्री फेरिएपनि खास अर्थ हुदैन भन्ने रहेको विश्लेषण कुटनीतिक वृत्तमा देखिन थालेको छ । त्यही भएर पनि राजदुत यान्छीले हिजै राष्ट्रपति भण्डारी देखि प्रधानमन्त्री ओलीसम्मलाई भेटघाट गरेकी थिइन् । राजदुत यान्छीले प्रधानमन्त्रीलाई राती साढे १० बजेसम्म भेटघाट गरेकी थिइन् । त्यसपछि ओलीले बालुवाटार निम्ताएका आफु निकट मन्त्रीहरुलाई छोटो भेट गरेर आवश्यक पर्दा प्रधानमन्त्री बाहेक सवै मन्त्री फेरिने गरी समझदारी खोज्न सकिन्छ भने पनि खोजेर जानुपर्ने सन्देश सुनाएका थिए ।

त्यही भावको स्टाटस मंगलबार दिउँसै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सामाजिक सन्जालमा लेखिसकेका थिए । त्यसपछि पनि ओली चुप बसेनन् । केही घण्टा अगाडी मात्रै प्रचण्डले राष्ट्रपतिसँगको छलफलमा के कुरा गरे भन्ने अपडेट लिन उनी राती ११ बजे राष्ट्रपति निवास पुगे । त्यहाँ उनले राष्ट्रपति भण्डारीसँग झण्डै एक घण्टा बढी भेटघाट गरेर मध्यरातमा बालुवाटार निवास फर्केका थिए ।

ओलीले संसदीय दलमा बहुमत सिद्ध गरेर बहुमत सांसदको हस्ताक्षर गरेर आफुले प्रचण्ड नेपाल समुहको रणनीतिलाई टक्कर दिने योजना बनाएपनि उनको त्यो योजना कामयावी हुने र बहुमत नपुग्ने देखेपछि ओली कुनै पनि विन्दुमा सहमति गर्ने गरी दौडधुपमा देखिएका छन् । उनले अध्यादेश लाने, संसद विघटन गर्ने र मध्यावधीमा जाने विषय अन्तिमसम्म पहल नलिन समझदारी खोज्ने तिर ओली देखिएका छन् । उनी अहिले हतास मनस्थितीमा देखिएका छन् ।  त्यही भएर पनि उनले आजको बैठक कसो गरी रोक्ने भन्नेमा मात्र दाउपेच खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस